विश्वकपमा केल्मीको ७० प्रतिशत डुब्लिकेट जर्सी प्रयोग

बुधबार, २३ जेठ, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकपअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले प्रतिस्पर्धा गर्दा ७० प्रतिशत केल्मीको डुब्लिकेट जर्सी प्रयोग भएको छ। 

नेपालले दश वर्षपछि विश्वकपमा पुनरागमन गर्दा नेपाली समर्थकले डालास ग्रान्ड प्रेएरी क्रिकेट मैदानमा डुब्लिकेट जर्सी प्रयोग भएको पाइएको हो। 

नेपाली टोलीको जर्सी कामारू ट्रेडिङ प्रालिको आधिकारिक बिक्रेता केल्मीसँग नेपाल क्रिकेट संघ (क्यान)ले सम्झौता गरेको हो। सम्झौताअनुसार नेपाली टोलीमा आवश्यक सबै पोसाक सामग्री केल्मीले उपलब्ध गराउनेछ। 

त्यस्तै, क्यान र केल्मीबीच जर्सी बिक्री गर्ने पनि सम्झौता भएको थियो। तर, सम्झौताअनुसार जर्सी बिक्री नभएर डुब्लिकेट प्रयोग भएको केल्मीका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले बताए। ‘विश्वकपको पहिलो खेलमा डुब्लिकेट जर्सी धेरै प्रयोग भएका थिए। ७० प्रतिशतभन्दा माथि यस्तो भएको पाइयो,’ न्यौपानेले भने, ‘कारबाहीको लागि सरोकारवालासँग समन्वय गरे पनि प्रभावकारी भएन । यो गम्भीर विषय हो।’

विश्वकपको सातौँ खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। समूह ‘डी’ मा टस हारेर ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदा १०७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नेदरल्यान्ड्सले १८.४ ओभरमा चार विकेट गुमाउँदै जित निकालेको हो।

अब, नेपालले दोस्रो खेल बुधबार बिहान श्रीलंकासँग खेल्नेछ। त्यसपछि दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्ने तालिका छ।

सुझावित समाचार