जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल

बुधबार, २३ जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन्। 

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृंखलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी-पहिरोलगायतका प्रकोपहरूले त्यस क्षेत्रका बासिन्दाहरूका लागि आधारभूत जीवनयापनका चुनौतीहरू थपिँदै गएको पनि उल्लेख गरे।  

उनले भने, ‘जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको ह्रासजस्ता अन्तरसम्बन्धित संकटहरूसँग नेपाललगायत सम्पूर्ण विश्व जुधिरहेको छ। एक्लो प्रयासले यी संकटहरू समाधान हुन सक्दैनन् भन्ने कुरामा हामी प्रस्ट छौँ।’

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको मूल नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य : भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’ ले हाम्रा अगाडि रहेका साझा चुनौती र अवसरहरूलाई समेत प्रस्ट पारेको उल्लेख गरे।  

उनले गत वर्ष संयुक्त राष्ट्रसंघका महासचिव श्री एन्टोनियो गुटेरेसले नेपालको भ्रमणका अवसरमा भन्नुभएको स्मरण गर्दै भने, ‘नेपालका हिमालले भोग्नुपरेको संकटका लागि विश्वसामु अझ जोडदार ढंगले प्रस्तुत गर्नुभएको थियो। उहाँकै शब्दमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाललगायत अन्य पर्वतीय मुलुकहरू एउटा विश्वव्यापी संकटको भूमरीमा फसेका छन् जसको सिर्जनामा उनीहरूको आफ्नै योगदान नगण्य छ। म आह्वान गर्न चाहन्छु कि यस गम्भीर मुद्दालाई सम्बोधन गर्न विश्व समुदाय एकत्रित भएर लागौँ। हामीलाई अझै ढिला गर्ने सुविधा छैन।’  

जलवायु परिवर्तनको विश्वव्यापी मुद्दाहरूको सम्बोधनमा नेपालले राष्ट्रियस्तरमा विभिन्न कार्यहरू गर्दै आएको बताउँदै सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकरात्मक असर न्यून गर्दै अनुकुलन क्षमता वृद्धि गरी उत्थानशीलता हासिल गर्न सहयोग गर्ने बताए। 

उनले सो कार्यक्रमले उच्च हिमशृंखला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन हुने बताए। 

सो क्रममा राष्ट्रपति भवनपरिसरमा राष्ट्रपति पौडैलले पलाँसको बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गर्नुभएको थियो भने उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले वृक्षारोपण गरेका थिए। 

कार्यक्रममा मुख्य सचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न देशका राजदूत तथा दातृ निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

सुझावित समाचार