ताप्लेजुङको मेवा खोलामा बन्दै गरेको युनाइटेड मेवा खोला हाइड्रोपावरले स्थानीयवासीलाई जग्गाको मुआब्जा नै नदिई मुख्य पावरहाउस निर्माण गरिरहेको छ । ५० मेगावाट क्षमताको करिब नौ अर्ब लगानीमा निर्माण हुँदै गरेको हाइड्रोपावरले तीन वर्षदेखि भवन निर्माण गर्दै आएको छ ।
पावरहाउसआसपासका एक दर्जनभन्दा बढी स्थानीयवासीले मुआब्जालगायत सुविधा नदिएको भन्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण अहिले निर्माण कार्यमा बाधा पुगेको छ । मेरिङ्देन गाउँपालिका वडा नम्बर ३ खाम्लुङ र वडा नम्बर ४ लिङ्तेपमा बन्दै गरेको सो हाइड्रोपावरको मुख्य पावरहाउस मेरिङ्देन ३ खाम्लुङमा बनिरहेको छ । मुख्य पावरहाउस बनेको जग्गा मातृका सामेखाम (लिम्बू)को नाममा छ । ‘हाम्रो चार रोपनी जग्गामा ठुल्ठूला बिल्डिङ बने, तर अहिलेसम्म हामीलाई मुआब्जासमेत दिएको छैन’ मातृृकाका छोरा भरेन्द्र सामेखामले भने, ‘हामीले चलनचल्तीको दाम मागेका छौँ, तर मुआब्जासमेत नदिई बिल्डिङ बनाइरहेका छन् ।’
यसरी विभिन्न क्षेत्रमा क्षति गरेको तथा मुआब्जा नदिएपछि औधबहादुर सामेखामको संयोजकत्वमा १६ जना पीडित सदस्य रहेको संघर्ष समिति नै निर्माण गरी आन्दोलनमा उत्रिएको संयोजक सामेखामले बताए । आयोजनाको लागि बाटो निर्माण गर्दा निजी व्यक्तिको जंगलमा क्षति भएको, बाटोले नै सबै जग्गा सकिएको हुँदा क्षतिपूर्तिको माग गरे पनि कम्पनीले कुनै वास्ता नगरेकाले आन्दोलनमा उत्रिनुपरेको संयोजक औधबहादुर सामेखामले बताए । युनाइटेड मेवा खोला हाइड्रोपावरका म्यानेजर ओमप्रकाश चौधरीले सो पावरहाउस बन्दै गरेको जग्गा अहिले पनि कम्पनीको नाममा नआएको स्वीकार गरे । सो चार रोपनी जग्गा स्थानीय मूल्यांकनभन्दा करिब आठ गुणा बढी भनेपछि जग्गाको मुआब्जा दिन कठिन भएको उनको भनाई छ ।