नमुना वडा समाजवादी कार्यक्रमका लागि प्रदेशका १३ वटा वडा छनाेट

बुधबार, २३ जेठ, २०८१
डिजिटल संस्करण

१२ मंसिर ०८० मा नमुना वडा समाजवादी कार्यक्रम कार्यविधि स्वीकृत गरेको बागमती प्रदेश सरकारले कार्यक्रम कार्यान्वयनका लागि प्रदेशका १३ जिल्लाबाट वडाहरू छनाेट गरेको छ । मंगलबार साँझ बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ जिल्लाका १३ वटा स्थानीय तहका एक–एकवटा वडामा कार्यक्रम कार्यान्वयन गर्ने गरी वडाहरू छनोट गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ वटा जिल्लाबाट १३ वटा वडा छनोट गरेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर– ७, चितवनको माडी नगरपालिकाको वडा नम्बर– ९, सिन्धुलीको ध्याङलेख गाउँपालिकाको वडा नम्बर– १, भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नम्बर– ४, काठमाडौंको शंकरापुर नगरपालिकाको वडा नम्बर– २ र ललितपुरको केन्ज्योसोम गाउँपालिकाको वडा नम्बर– २ लाई नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि छनाेट गरिएको छ ।

यसैगरी रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर– ७, सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर– ३, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर– ३, रसुवाको नौकुण्ड गाउँपालिकाको वडा नम्बर– ५, धादिङको रुविभ्याली गाउँपालिकाको वडा नम्बर– ५, काभ्रेको महाभारत गाउँपालिकाको वडा नम्बर– १ र दोलखाको गौरीशंकर गाउँपालिकाको वडा नम्बर– १ लाई नमुना वडा समाजवादी कार्यक्रम सञ्चालनका लागि छनोट गरिएको छ ।

मन्त्री श्रेष्ठले छनोट भएका वडा र सम्बन्धित स्थानीय तहले कार्यक्रम कार्यान्वयनका लागि कार्यविधिअनुसारको कार्यक्रम तय गरी सम्झौता गर्नुपर्ने जानकारी दिए । सम्झौतापश्चात् प्रदेश सरकार र सम्बन्धित स्थानीय तहको सहलगानीमा ती वडाहरूमा नमुना वडा समाजवादी कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ । 

कार्यविधिअनुसार एक करोड रुपैयाँ बजेटमार्फत कार्यक्रम सञ्चालन गरिने जसमध्ये प्रदेश सरकारले ९० लाख रुपैयाँ र स्थानीय तहले १० लाख रुपैयाँ लगानी गर्नुपर्ने मन्त्री श्रेष्ठले जानकारी दिए । नमुना वडा समाजवादी कार्यक्रममार्फत प्रदेश सरकारले मानव सूचकांकमा पछि परेका स्थानीय तहका नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रको प्रवर्द्धनका लागि काम गर्ने उनले बताए ।

समाजवादी कार्यक्रमअनुसार प्रदेश सरकारले छनोट गरेका वडाहरूमा उत्पादन वृद्धि गरी खाद्य सुरक्षा सुनिश्चित गर्ने, उद्यमशीलता वृद्धि गर्ने, गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने, शुद्ध खानेपानी, सफा शौचालय र स्वच्छ ऊर्जामा सबै नागरिकको पहुँच स्थापित गर्ने, गरिब तथा विपन्न नागरिकलाई सुरक्षित आवासको व्यवस्था गरी व्यवस्थित बसोवासयुक्त वडाको रूपमा विकास गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ ।

यस्तै, नयाँ प्रविधियुक्त प्राविधिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षामा सबै वडावासीको पहुँच स्थापित गर्ने, सीप विकास र स्वरोजगार प्रवर्द्धन गर्ने, सूचना तथा सञ्चार प्रविधिमा सबै वडावासीको पहुँच पुर्याउने र सामाजिक विभेदको अन्त्य र सामाजिक सुरक्षाको व्यवस्था गरी समतामूलक सभ्य र सुसंस्कृत वडाको रूपमा विकास गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ ।

गत आर्थिक वर्षदेखि प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्दै आएको नमुना वडा समाजवादी कार्यक्रम चालू आर्थिक वर्षमा समेत कार्यान्वयन गर्ने गरी बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले गत आर्थिक वर्षमा उक्त कार्यक्रम कार्यान्वयनका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो भने चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ ।
 

सुझावित समाचार