अन्तर्राष्ट्रिय फिल्म सुटिङलाई प्रवर्द्धन गर्न माग

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

नेपालमा अन्तर्राष्ट्रिय फिल्मको सुटिङ बढाउने वातावरण बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरूले बताएका छन्। 

गोपीकृष्ण फिल्मस्ले आइतबार काठमाडौंमा आयोजना गरेको ‘सुटिङ डेस्टिनेसन इन नेपाल’ अन्तर्क्रियामा चलचित्र निर्देशक मीन भामले सुटिङका लागि नेपाल महँगो बन्दै गएकाले विदेशी फिल्ममेकरहरू अन्यत्र आकर्षित भइरहेको बताए।

‘पर्यटनको लागि नेपाल आफैँमा सस्तो देश हो। तर, सुटिङको लागि महँगो छ। यहाँ सरकारी संयन्त्र पनि झन्झटिलो छ। विदेशबाट सामना ल्याउनै झमेला हुन्छ,’ उनले भने,‘ दक्ष जनशक्तिको पनि अभाव छ। हाम्रोमा हलिउड दुई वा बलिउडको तीनवटा फिल्म सुटिङ  गर्न नेपाल आयो प्रोजेक्ट धान्नै सकस पर्छ। अहिले त हामीले नेपाली फिल्म बनाउँदा पनि प्राविधिक जनशक्ति विदेशमा खोज्नुपर्ने अवस्था छ।’

निर्देशक भामले सरकारी उल्झनहरूले गर्दा पनि नेपालमा सुटिङ गन्तव्य हुन नसक्ने बताए। ‘नेपाल एसियाभरमा त्यस्तो देश हो जहाँ फिल्मको लागि कर छुट हुँदैन। हामी आफैँ पनि कर तिरेर सुटिङ गर्नुपर्ने देशमा कसरी विदेशी फिल्मको सुटिङ गन्तव्य हुन्छ? त्यसैले सरकारको नीति परिवर्तन नभएसम्म यो सम्भव छैन,’ उनले भने। 

चलचित्र निर्देशक जनकदीप पराजुलीले पनि सरकारी नियम र प्रक्रियालाई सहज बनाउनुपर्ने बताए। ‘नेपालमा आफैँमा फिल्म सुटिङको लागि सुन्दर फिल्म स्टुडियो हो। तपाईंहरू फिल्म सुटिङ गर्न आउनुभयो भने व्यक्तिगत तहबाट स्वागत र सहयोग गर्न तयार छौँ। तर, हाम्रोमा विदेशी फिल्म छायांकनको लागि केही समस्या बिडम्बनाहरू पक्कै छन्। यसलाई बिस्तारै सुधार गर्दै लैजानुपर्छ,’ उनले भने, ‘सबैभन्दा पहिलो समस्या भनेको कर छुट नै हो। केही विदेशी फिल्म सुटिङ गर्न आउन खोजे पनि आएनन्। नेपालमा सुटिङका लागि प्रक्रियाहरू झन्झट भएर आएका छैनन्।’

सांसद विनिता कठायतले फिल्म निर्माणमा संलग्नहरूले यस क्षेत्रसँग सम्बन्धित मुद्दालाई एकजुट रूपमा उठाउनुपर्ने बताइन्। ‘मुख्य कुरा ऐन–कानुन चाहिएको हो। यसका लागि चलचित्रकर्मीले एकजुट भएर आफ्ना समस्या राख्नुपर्छ। मन्त्रालयका प्रतिनिधिसँग समूह–समूहमा भेटेर हुँदैन,’ उनले भनिन्, ‘विदेशबाट नेपालमा सुटिङ गर्न आउनेलाई सहज हुने गरी ऐन बनाउन सकिए, अस्ट्रेलियामा नेपाली गाउँ बनाएर हलिउड फिल्म सुटिङ गर्नुपर्ने बाध्यता हुँदैन थियो। उहाँहरूलाई नेपालमै स्वागत गर्न सकिने थियो।’

चर्चित बलिउड फिल्म ‘जिरो’ का लाइन प्रोड्युसर सर्फराज आलमलेले नेपालले आफ्ना राम्रा गन्तव्यहरूलाई प्रवर्द्धन गरेर विदेशी फिल्ममेकरहरूलाई आकर्षित गर्नुपर्ने बताए। नेपाली जनताको इच्छाशक्ति र फिल्ममेकरको लगावले नेपाललाई राम्रो फिल्म गन्तव्य बनाउन सक्ने बताए।

उनले भारतीय र चिनियाँ फिल्म उद्योग मात्रै नभएर युरोप र अमेरिकामा पनि नेपालको प्रवर्द्धन गर्नुपर्ने बताए। ‘नेपाल र भारतबीच नजिकको सांस्कृतिक सम्बन्ध छ। त्यही कारण यहाँ भारतीयहरू आउने नै भए। नेपालले युरोप र अमेरिकाबाट फिल्ममेकरलाई ल्याउन पहल गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि नेपाली फिल्ममेकरहरूका आफ्ना फिल्मलाई विभिन्न फिल्म फेस्टिभलहरूमा लैजानुपर्छ ।’

अन्तर्राष्ट्रिय फिल्म पर्यटन अभियन्ता टेरेन्स कार्डोजले नेपालमा उत्कृष्ट गन्तव्यहरू रहेको बताए। उनले यहाँ कम खर्चमै सुटिङ गर्न सकिने फाइदाबारे पनि विदेशीलाई बुझाउनुपर्ने बताए।

‘अन्य देशमा सहुलियत मिल्ला। तर, सहुलियत मात्रै ठूलो कुरा होइन। युरोपमा सहुलियत पाएर खर्च हुने रकमभन्दा कम रकममै यहाँ खिच्न सकिन्छ। किन सहुलियतको झन्झट लिने भनेर पनि हामीले फिल्ममेकरलाई कन्भिन्स गर्न सक्छौं,’ उनले भने, यस विषयमा कन्भिन्स गर्न सक्नुपर्छ।’ 

कार्यक्रममा बलिउड निर्माता चन्द्र के झा, चिनियाँ फिल्ममेकर लिय यू तथा ल॥ झिहानलगायतले आफ्ना धारणा राखेका थिए।

सुझावित समाचार