स्रोतको प्रभावकारी बाँडफाँट नहुँदा अर्थतन्त्रमा समस्या : पूर्वअर्थमन्त्री महत

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतको प्रभावकारी बाँडफाँट नहुँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा आगामी वर्षको बजेटमाथिको छलफलमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन्। बजेट प्रणालीको समस्या समाधान गर्न आफ्नो नेतृत्वमा ठोस योजना बनाए पनि वर्तमान सरकारले त्यसलाई निरन्तरता नदिएको महतको भनाइ छ।

उनले भने, ‘बजेटरी सिस्टममा अनुशासनको कमी थियो, बेथिति थियो। त्यसलाई अन्त्य गर्ने रोडम्याप हामीले तय गरेका थियौँ। त्यसले निरन्तरता पाउँछ भन्ने आशा थियो। तर, सुधारको त्यो थालनीले निरन्तरता पाएन।’

भारत र बंगलादेशको तुलनामा नेपालको राजस्व र जिडिपीको अनुपात राम्रो भए पनि सरकार आफ्नानजिकका व्यक्तिको विषय सम्बोधन गर्न केन्द्रित भएकाले बजेटको प्रतिफल नदेखिएको महतले टिप्पणी गरे।

‘हाम्रो लगानी पनि भइरहेको छ, रेभेन्यु पनि उठिरहेको छ। तर, उत्पादन बढिरहेको छैन। जिडिपी बढिरहेको छैन। यसको कारण के हो ? यसको आधारमा समस्याको समाधान खोज्नुपर्छ । तर, सरकार मूलभूत रूपमा आफ्ना नजिककालाई सम्बोधन कसरी गर्ने भन्नेतर्फ बढी चिन्तित छ,’ उनले भने, ‘हाम्रो अर्थतन्त्रको समस्या भनेको इनइफिसियन्ट एलोकेसन अफ रिसोर्सेस हो । हामी लगानी गरिरहेका छौँ, तर  ठीक ठाउँमा गरिरहेका छैनौँ ।’
 

सुझावित समाचार