दाङको विकट क्षेत्र मानिने शान्तिनगर गाउँपालिका– १ हारिचारलगायतका क्षेत्रमा विद्युत् पुगेको छ। संघीय सरकारको करिब तीन करोड लगानीमा विद्युतका संरचना निर्माण भएपछि विद्युत् सेवा सञ्चालन गरिएको हो।
वडा नं. १ को विकट क्षेत्र हारिचार, कालापहरा, बाघखोर, तिनुखारा, बान्द्रखोला, आरखुट्टी, बसिनडाँडा, सिद्धपँधेरा, सालघारी, हल्दे, बाँझविसाउनलगायतका क्षेत्रमा पहिलोपटक विद्युत् पुगेको हो।
जहाँ चारवटा ट्रान्समिटर जडान गरिएको वडाध्यक्ष जंगबहादुर पुनले बताए। पेदीखोला, हारिचार, बाघखोर र कालापहरामा ट्रान्समिटर जडान गरेर सेवा प्रदान गरिएको हो। लामो समयदेखि त्यहाँका करिब चार सय घर परिवार विद्युतको पर्खाइमा थिए।
सोलार, टुक्कीको भरमा जीवन निर्वाह गरेका त्यहाँका नागरिकहरू विद्युत् पुगेपछि भने खुसी भएका छन्। अब विभिन्न कुटानी, पिसानीलगायतका कार्यका लागि पनि सहज हुने हारिचारका दुर्गा घर्तीले बताए।
उक्त कार्यको लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेश सभा सदस्य धनबहादुर मास्कीले उद्घाटन गरेका हुन्। त्यस अवसरमा मास्कीले पश्चिम दाङ विकट क्षेत्रका रूपमा लिइने र विकासका हिसाबले पछि परेको भन्दै अब त्यसो हुन नदिने बताए।
उनले पश्चिम दाङलाई हरेक हिसाबले समृद्ध दाङ बनाउने आफ्नो अभियान रहेको बताए। ‘पश्चिम दाङलाई सबैले कर्णाली भनेर भन्छन्,’ उनले भने, ‘तर, अब त्यसो रहँदैन, समृद्धि पश्चिम दाङ बनाउँछौँ।’