राजनीतिक विश्लेषक चन्द्रकिशोरलाई तीन प्रश्न

आइतबार, २० जेठ, २०८१
डिजिटल संस्करण

मधेशको सत्ता राजनीति कता गइरहेको देख्नुहुन्छ ?
काठमाडौंले जता डोर्याउन खोज्छ, मधेशको राजनीति त्यतै डोरिने गरेको छ । मधेशी राजनीतिको बाटो काठमाडौंले तय गर्दै आएको धेरै भइसक्यो । मधेशमा सत्ताको पासो थापेर आफ्नो राजनीतिक रोटी सेक्न काठमाडौं माहिर देखिँदै आएको छ । मधेशमा अबका दिनमा जुन राजनीति मञ्चन हुनेछ, त्यसको पटकथा काठमाडौंमा लेखिँदै छ । एकातिर सत्ता गठबन्धनले आफूअनुकूल पटकथा लेखिरहेको छ भने अर्कातिर कांग्रेस र उपेन्द्र यादव समूहले पनि आफू अनुकूल पटकथा लेखिरहेका छन् । उपेन्द्रजी संघीय गठबन्धनबाट बाहिरिएपछि ओलीजीलाई मधेशमा एमालेको नेतृत्वमा सरकार बनाउनु छ । त्यसैले, उहाँ तत्कालका लागि जनमत या उपेन्द्रजीबाट फुटेको समूहलाई नेतृत्व दिएर भए पनि भविष्यमा आफ्ना लागि अनुकूलता खोज्ने प्रयास गर्दै हुनुहुन्छ । 

यसबाट उपेन्द्र यादवको राजनीतिक भविष्यमा कस्तो प्रभाव पर्ने देख्नुहुन्छ ?
संविधानतः प्रदेश तह अस्तित्वमा आइसकेपछि मधेशको राजनीतिमा उपेन्द्रजीको बलियो उपस्थिति देखिँदै आएको हो । अहिले संगठन टुक्रिएको तथा काठमाडौं र मधेशको सत्ताबाट बाहिरिनुपरेको अवस्थामा उहाँको राजनीतिमा स्वाभाविक रूपमा धक्का लाग्छ । यसबाट उहाँको पार्टी फुटको प्रभाव भुइँ तहका नेता, कार्यकर्तासम्म विस्तारित हुन्छ ।  

मधेशमा सम्भावित सत्ता परिवर्तनले राजनीतिमा कस्तो पार्ला ?
चाहे जुनसुकै दल होस्, उसले मधेशमा गर्ने राजनीति मधेशी राजनीति नै हो । संस्थापनसँगको संघर्षमा टुटफुटमा अल्झेको मधेशी राजनीति कमजोर साबित हुँदै आएको छ । अनेक नाममा हुँदै आएको विभाजनले मधेसी दलहरूको बार्गेनिङ क्षमतालाई कमजोर बनाएको छ । यसले गर्दा मधेशकेन्द्रित कुनै पनि दलको सौदाबाजीको क्षमता घट्दै गएको र थप घटाउने सम्भावना देखिन्छ ।  

सुझावित समाचार