सुनकोशीमा मिसिनबाट जोगाइयो २५ टन प्लास्टिकजन्य फोहोर

शनिबार, १९ जेठ, २०८१
डिजिटल संस्करण

२५ टन प्लास्टिजन्य फोहोर सुनकोशी नदीमा मिसनबाट जोगाइएको छ। क्याप परियोजनाअन्तर्गत क्रिएसन नेपालले सिन्धुलीको गोलन्जोर गाउँपालिकासँग मिलेर नदीछेउमा डम्पिङ भएको प्लास्टिकजन्य फोहोर संकलन गरेको हो। 

गोलन्जोर–७ खुर्कोटस्थित नदीको किनारमा लामो समयदेखि फोहोर डम्पिङ साइटको रूपमा परिणत भएको हटस्पटबाट प्लास्टिकजन्य फोहोरमैला संकलन गरी सफा गरिएको क्याप परियोजनाअन्तर्गत आयोजना गरिएको नदी सरसफाइ अभियान परियोजनाले जनाएको छ। युवा स्वयंसेवक, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीय गरी सयको सहकार्यमा सरसफाइ गरिएको हो।

क्याप परियोजना नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सिज अफ साउथ एसिया)को एक प्रमुख आयोजनाको रूपमा रहेको छ भने, युनेस्को र विश्व बैंकको सहयोगमा दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप)द्वारा लागू गरिएको हो।

गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बरालले गोलन्जोरमा फोहोरमैला व्यवस्थापन गम्भीर समस्याको रूपमा रहेको र झन् प्लास्टिकका बोतलहरू जताततै पाइने गरेको बताए। नागरिकस्तरबाटै यसलाई न्यूनीकरण गर्नुपर्नेमा उनले जोड दिए।

क्रिएसनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्त्वलाई विशेष जोड दिए। उनले भने, 'हामीले प्रकृति संरक्षणजस्ता महत्त्वपूर्ण कार्यको लागि अन्य प्रेरणा वा आर्थिक सहयोगमा मात्र भर पर्नुहुँदैन। यो प्रतिबद्धता हामी सबैलाई भित्रबाट नै आउनुपर्छ।’

क्याप परियोजना प्रमुख उज्ज्वल उपाध्यायका अनुसार सुनकोशीबाट सुरु भएको सरसफाइ अभियान १२ वटा नदीमा सञ्चालन हुनेछ।

सुझावित समाचार