कोदारी राजमार्ग स्तरोन्नति हुने खबरले सीमावासी खुसी

शनिबार, १९ जेठ, २०८१
डिजिटल संस्करण

चौतारा अस्पतालको नवनिर्मित भवन नेपाल सरकारलाई हस्तान्तरण गरेलगत्तै १६ जेठमा चिनियाँ राजदूत चेन सोङ स्वशासित क्षेत्र तिब्बतको जाङ्मुपोर्ट सिमाना लिपिङ पुगे। नेपाल–चीन छुट्याउने मितेरी पुलबीचको रातो घेरामा न्यालम काउन्टीका अधिकारी राजदूत सोङलाई स्वागत गर्न बसेका थिए। सिन्धुपाल्चोक क्षेत्र नं. १ का संघीय सांसद माधव सापकोटाको अनुरोधमा सोङ सिमाना अवलोकन गर्न पुगेका थिए। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटा पनि सँगै थिए। 

चिनियाँ राजदूत आउने खबर पाएपछि पर्यटन व्यवसायी, व्यापारी र स्थानीय नाकामा जम्मा भएका थिए। विशेषतः नाकामा होटेल व्यवसाय गर्नेहरू उत्साही देखिन्थे। भूकम्प र कोरोना महामारीपछि तातोपानी नाकामा निर्भर स्थानीय तितर–वितर भएका छन्। सिमानामा बस्ने नागरिक सुरक्षा कवज हुन् भन्ने बुझेको चीनले भोटेकोशी क्षेत्रका स्थानीयलाई व्यापार–व्यवसाय र केही न केही रोजगारमा जोड्न चाहन्छ। तर, कतिपय सुझबुझ र कानुनी झमेलाले दुई देशबीचको सिमाना चीनले सोचेजस्तो सहज भने छैन।

राजदूत र सांसद सापकोटाले लार्चास्थित सुक्खा बन्दरगाहभित्र रहेको तातोपानी भन्सारमा व्यापार व्यवसाय सहज पार्न कोदारी राजमार्गको पुनर्निर्माण अत्यावश्यक रहेको विषयमा छलफल गरे। कोदारी राजमार्गको स्तरोन्नतिका लागि नेपाल सरकारले एक अर्ब २० करोड छुट्याएको छ। बैठकमा राजदूत सोङले कोदारी सडकलाई चीन सरकारले पनि अनुदान दिने घोषणा गरेका छन्।

सरकारले सम्बन्धित निकायलाई निर्देशन दिने हो भने कोदारी सडकको पुनर्निर्माण तत्काल सुरु हुन सक्छ। नेपाल सरकारले बाह्रबिसेबाट र चीन सरकारले लिपिङबाट सडक निर्माण सुरु गर्न बैठकले सुझाव दिएको छ। नेपाली पक्षको चासोलाई सम्बोधन गर्दै राजदूतले भने, ‘चीन सरकार नेपालको विकास र समृद्धिका लागि सधैँ साथमा छ।’ तातोपानी भन्सारले गत वर्षहरूभन्दा अहिले तीन गुणा राजस्व संकलन गरेको छ। यसको अर्थ हो तातोपानी नाकामा व्यापार धेरै बढेको छ। तातोपानी भन्सारका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले विगत वर्षमा चार अर्ब राजस्व उठ्ने गरेकोमा अहिले १२ अर्ब हाराहारी राजस्व उठेको बताए। व्यापार बढेसँगै नाका पूर्ववत् फर्कन लागेको उनले प्रस्ट्याए।  

आयात/निर्यात मात्रै होइन, पर्यटन व्यवसायतिर चिनियाँ पक्षको चासो छ। आफ्ना नागरिकलाई खासाबाट बाह्रबिसेसम्म नेपालले निर्वाध प्रवेश देओस् भन्ने चीन चाहन्छ। सिन्धुपाल्चोकका नागरिक जसरी ३० किलोमिटर क्षेत्र चीनपट्टि सामान खरिद गर्न जान्छन्, त्यसैगरी चिनियाँहरू पनि बाह्रबिसेसम्म आउन चाहन्छन्। ‘चिनियाँहरू लक्जरी हुन्छन्। यदि बाह्रबिसेसम्म सहज आउन पाउँदा यहाँको होटेल व्यवसाय र स्थानीय उत्पादनबाट फाइदा लिन सकिन्छ,’ पर्यटन व्यवसायी छिरिङ शेर्पाले भने। चारतारे होटेल भोटेकोशी हेली रिसोर्टका सञ्चालकसमेत रहेका शेर्पाले नेपाल–चीन सिमानामा ३० किलोमिटर क्षेत्रभित्र सहज आवातजावत गर्न सके होटेल व्यवसाय फस्टाउने बताए। 

चिनियाँ पर्यटक भित्र्याउँदा भोटेकोशी हेली रिसोर्ट, बन्जी जम्प स्टेसन द लास्ट रिसोर्ट, होटेल स्मल हेभन, अरनिको भिलेज  र भोटेकोशी क्षेत्रका होमस्टे राम्रोसँग सञ्चालन भई स्थानीयले रोजगारी पाउँछन्। चिनियाँलगायत विदेशी पाहुना भित्र्याएर होटेल तथा पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड काठमाडौं र भोटेकोशी हेली रिसोर्ट तथा स्पा लिमिटेडबीच सर्वसाधारणमा सेयर सार्वजनिक निष्कासन गर्ने गरी रिसोर्टका अध्यक्ष चीनबहादुर राणाभाट र बैंकका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। कोदारी राजमार्गलाई बजेट विनियोजन भएको खबर सुनेका होटेल तथा पर्यटन व्यवसायी राजदूत र सांसदले नाकाको अवलोकन गरेपछि उत्साही भएका छन्। 
 

सुझावित समाचार