नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बंगालसम्म फैलिएको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ।
हाल कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन/ चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार कोशी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।