सप्तरी प्रिमियर लिगकाे उद्घाटन खेलमा छिन्नमस्ता लायन्स विजयी

शुक्रबार, १८ जेठ, २०८१
डिजिटल संस्करण

सप्तरीको राजविराजमा छैटाैँ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सुरु भएको छ। पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा छिन्नमस्ता लायन्सले कञ्चनरूप राइनोजलाई २२ रनले पराजित गरेको हो।

छिन्नमस्ताले दिएको एक सय ८८ रनको विशाल लक्ष्य पछ्याएको कञ्चनरूपले १९.४ ओभरमा एक सय ६५ रन मात्रै बनाएर सबै विकेट गुमायो। कञ्चनरूपका लागि रासिद खानले सर्वाधिक ४७ रनको योगदान गरे पनि जितका लागि पर्याप्त रहेन। उनले २९ बलमा तीन चौका र चार छक्का प्रहार गरेका थिए।

यसैगरी, दिनेश अधिकारीले २० बलमा एक चौका र चार छक्कासहित ३१ रन बनाउँदा अभिषेक गौतम र चित्रबहादुर विष्टले समान २३ रन बनाए। लक्ष्य पछ्याउने क्रममा ५९ रनमा सात विकेट गुमाएको अवस्थामा रासिद र दिनेशले ५६ रनको साझेदारी गरे तापनि जितका लागि पर्याप्त रहेन।

छिन्नमस्ताको बलिङमा विशाल पटेलले सर्वाधिक चार विकेट लिए। प्लेयर अफ दी म्याच घोषित पटेलले चार ओभरमा १३ रन मात्रै खर्चेर चार विकेट हात पारेका हुन्। यसैगरी, मोहम्मद सोहेलले तीन, सुमित नेवारले दुई तथा फिर्दोष अन्सारीले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ८७ रनको योगफल तयार गरेको थियो। छिन्नमस्ताका सुमित नेवारले आक्रामक ब्याटिङ गर्दै १८ बलमा तीन चौका र चार छक्काको मद्दतले ४३ रन बनाए।

राष्ट्रिय टोलीमा समेत रहेका भीम शार्कीले १६ बलमा ३० रनको योगदान गरे। उनले चार चौका र एक छक्का प्रहार गरेका थिए। यस्तै, राज वर्माले २३ बलमा २६ रन, विशाल पटेलले १० बलमा १९ रन तथा रोहन विकले १४ बलमा १८ रन जोडे।

कञ्चननरूप राइनोजको बलिङमामा उमेशकुमार चौधरी र राहुल मण्डलले समान तीन–तीन विकेट लिए। उमेशले चार ओभरमा २८ रन तथा राहुलले चार ओभरमा ३७ रन खर्चिए। रासिद खान र दिनेश अधिकारीले एक–एक विकेट लिए। 

प्रतियोगिताअन्तर्गत शनिबार दुई खेल हुनेछन्। बिहान नाै बजे सुरु हुने पहिलो खेल बलान बिहुल सुपर किंग्स र राजविराज राजदेवी ११ तथा दिउँसो १ बजे हुने दोस्राे खेलमा तिरुहट टाइगर्स र सनराइज ११ तिलाठी कोइलाडीले प्रतिस्पर्धा गर्नेछन्।

सुझावित समाचार