दुवै मिर्गौला फेल भएर उपचारको अभावमा छटपटाइरहेकी सल्यान सिद्धकुमाख गाउँपालिका– १ कागखोलाकी शर्मिला चलाउनेको परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन्।
दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गराइरहेकी १२ वर्षीया शर्मिलाको मिर्गौला प्रत्यारोपण गर्न पैसा अभाव भएकाले आर्थिक सहयोग गरिदिन उनका बुबा पेसल चलाउने र आमा अनिता चलाउनेले आग्रह गरेका छन्।
करिब दुई महिनाअघि दुवै मिर्गौला बिग्रिएपछि १२ वर्षीया शर्मिलाको सातामा दुईपटक डाइलाइसिस गराइरहेको उनकी आमा अनिता चलाउनेले बताइन्।
शर्मिलालाई सुरुमा सामान्य स्वास्थ्य समस्या देखिएपछि दाङको घोराहीमा सामान्य उपचार गरिए पनि व्यथाले च्याप्दै गएपछि अहिले काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ छिन्। शर्मिलाको उपचार गराउँदा अहिलेसम्म आफूहरूसँग भएको पैसा सकिएको बुबा पेसलले बताए।
अहिले शर्मिलाको ऋण सापट गरेर जेनतेन डाइलाइसिस गराइरहेको उनको भनाइ छ। बिरामी छोरीको उपचारका लागि सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए छोरीले नयाँ जीवन पाउन सक्ने आमा अनिता चलाउनेको आशा छ।
सहयोगका लागि लक्ष्मी सनराइज बैंक लिमिटेडमा आमा अनिता चलाउनेको खाता नम्बर ०४०२३०१६७१६ मा सहयोग गरिदिन वा मोबाइल नम्बर ९८१२८०३८३६ मा सम्पर्क गर्न सकिनेछ।