संसदीय समितिले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबार बसेको बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक सर्वसम्मत पारित गरेको हो।
अभिलेख संरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल बनाउन र नेपालमा हाल रहेका अभिलेखहरूको संरक्षणका सम्बन्धमा प्रचलित कानुनमा रहेका अन्य समसामयिक र प्राविधिक विषयहरू सुधार गर्नका लागि तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले १० असार ०७७ मा राष्ट्रिय सभामा विधेयक पेस गरेका थिए।
राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित आएको विधेयकलाई प्रतिनिधिसभाले १५ वैशाखमा अन्तर्राष्ट्रिय समितिमा दफावार छलफलका लागि पठाएको थियो। १३ महिनापछि समितिले छलफल सकाएर सर्वसम्मत विधेयक पारित गरेको हो।
अब प्रतिनिधिसभाले पारित गरेपछि विधेयक राष्ट्रिय सभामा जानेछ। प्रतिनिधिसभाको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि जानेछ।