खोटेहाङ गाउँपालिका– २ वाप्लुखास्थित सुम्लिखामा किराँती प्रथम राजा यलम्बरको शालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ।
खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजनाअन्तर्गत सात वर्ष लगाएर सुम्लिखामा रु. ७० लाख लगानीमा यलम्बर पार्क स्थापना गरिएको हो।
वाप्लुखाका स्थानीय जफतजङ खिम्दुङ राईले निःशुल्क उपलब्ध गराएको दुई रोपनी जग्गामा स्थापना गरिएको पार्कमा फाइवरबाट निर्माण गरिएको यलम्बरको पूर्ण कदको सालिक राखिएको छ।
फलामे घेराबारले घेरिएको पार्कभित्र नौ फिट अग्लो यलम्बरको पूर्ण कदको सालिक, खानेपानीको धारा, प्रतीक्षालय, फलैँचा, सामुदायिक भवनलगायतका संरचना निर्माण गरिएको छ।
सुम्लिखामा यलम्बर पार्क स्थापना गर्नाले किराँत समुदायको सांस्कृतिक विषय संरक्षण हुनुका साथै आन्तरिक पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय शिक्षक नयन्द्र खिम्दुङ राईले बताए।
‘सुम्लिखामा बान्तावा राई जातिको सेउली लगाउने घर छ। हामीहरू साकेला नाचिसकेपछि त्यो घरमा सेउली मार्छौँ अर्थात् थन्क्याउँछौँ,’ उनले भने, ‘यही ऐतिहासिक स्थलको विकास गर्न वडा तथा गाउँपालिकाको लगानीमा यलम्बर पार्क स्थापना गरिएको हो। यसले गाउँपालिकाको आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।’
किराँत राई बान्तवा समुदायको ऐतिहासिक स्थल सुम्लिखामा स्थापना गरिएको यलम्बर पार्क बिहीबार गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले औपचारिक रूपमा उद्घाटन गरेका छन्।
बान्तवा राई समुदायले पुज्दै आएको ‘सावासकेला थान’नजिकै निर्माण गरिएको यलम्बर पार्क उद्घाटन कार्यक्रमको अवसर पारेर साकेला सिलीसमेत प्रदर्शनी गरिएको स्थानीय इन्द्रहाङ किराँतीले जानकारी दिए।
वाप्लुखाका वडाध्यक्ष पारस राईको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख मुक्ति, वडा नम्बर ९ लिच्किराम्चेका वडाध्यक्ष इन्द्रबहादुर राई, युवायुवतीलगायतको उपस्थिति रहेको थियो। सुम्लिखामा हरेक वर्षको उँभौली र उँधौलीमा साकेलासिलीको सेउली मार्ने चलन रहेको जनाइएको छ।
१० स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय धार्मिक, ऐतिहासिक एवं पुरातात्त्विक स्थलहरू संरक्षण तथा प्रवर्द्धका कामहरू तीव्रगतिमा भइरहेका छन्।
जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रका धार्मिक तथा ऐतिहासिक स्थलहरुको संरक्षण एवं प्रवर्द्धन गर्नाले आन्तरिक पर्यटकहरूका लागि ती स्थलहरूघुम्न जाने ठाउँको रूपमा विकास भएका छन्।