नेपाली सेनाले नेपालकै ठूलो र गहिरो ताल रारामा आयोजना गरेको चौथो रारा ट्रेल रन प्रतियोगिताको उपाधि राज्यलक्ष्मी रावल र अक्कल बडुवालले जितेका छन् । नेपाली सेनाले आयोजना गर्दै आएको ट्रेल रनको चौथोपटकका लागि नेपालकै ठूलो ताल रारा तावरिपरि रहेको १६ किलोमिटर क्षेत्रमा धावकहरूलाई प्रतिस्पर्धा गराइएको थियो ।
यो वर्षको ट्रेल रनको आयोजक नेपाली सेनाको हमुमान ध्वज गुल्म रारा रहेको छ । शुक्रबार बिहान सञ्चालन भएको रारा ट्रेल रनमा महिला र पुरुष गरी एक सय ९४ जना खेलाडीले सहभागिता जनाएका थिए । सहभागी पुरुष एक सय ६९ मध्ये छायानाथ रारा नगरपालिका– १४ वाम गाउँका अक्कल बडुवाल (१७) ले निर्धारित १६ किलाेमिटर दूरी एक घण्टा दुई मिनेट १० सेकेन्डमा पार गर्दै प्रथम भएका छन् ।
कनकासुन्दरी गाउँपालिका– ३ का शेरबहादुर बुढाले एक घण्टा दुई मिनेट ११ सेकेन्डमा पार गर्दै द्वितीय र कनकासुन्दरी– २ जुम्लाकै चन्द्र रावतले एक घण्टा दुई मिनेट २१ सेकेन्ड लगाएर तृतीय स्थान प्राप्त गरेका थिए । यस्तै, महिला सहभागी ३५ जनामध्ये गोठीचौर गाउँपालिका– ३ गज्याङकोट गाउँकी राज्यलक्ष्मी रावल (१९) ले निर्धारित १६ किलोमिटरको दूरी एक घण्टा १४ मिनेट ३३ सेकेन्डमा पार गर्दै प्रथम भएकी छिन् । पातारासी गाउँपालिका जुम्ला पेरा गाउँकी कल्पना बुढाले एक घण्टा १४ मिनेट ५२ सेकेन्ड लगाएर दोस्रो र जुम्ला जिल्ला समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेन्ड लगाएर तेस्रो स्थान हात पारेका छन् ।
ट्रेल रनमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीलाई जनही क्रमशः ५० हजार, ४० हजार, ३० हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ । विजेताहरूलाई प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, छायानाथ रारा नपा कावा प्रमुख पदमराज मल्ल, हिमा गाउँपालिका जुम्लाका अध्यक्ष, उत्तर पश्चिम पृतना उपरथी कृष्णदेव भट्टले पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।
दौड प्रतियोगितामा ज्येष्ठ खेलाडी ५१ वर्षीय राजाराम बुढा (राज्यले हल्लायो) देखि कान्छा खेलाडी १५ वर्षीय दीपेन्द्र रावल प्रतियोगिका रूपमा सहभागी भएका थिए ।