संक्रमणकालीन न्याय प्रक्रियाको अध्ययन गर्न नेताहरू कोलम्बिया प्रस्थान

शुक्रबार, १८ जेठ, २०८१
डिजिटल संस्करण

संक्रमणकालीन न्याय प्रक्रियाको अध्ययन गर्न प्रमुख दलका नेताहरू कोलम्बिया प्रस्थान गरेका छन् । द्वन्द्व व्यवस्थापन र संक्रमणकालीन न्याय प्रक्रियाको उदाहरणीय मुलुकका रूपमा रहेको कोलम्बियाको मोडलको अध्ययन तथा नेपाली शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्यायलाई निष्कर्ष पुर्याउने उद्देश्यले नेपाली प्रतिनिधिमण्डल बिहीबार त्यसतर्फ प्रस्थान गरेको कानुन मन्त्रालयले जनाएको छ । 

प्रतिनिधिमण्डलमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक, पूर्वसांसद राधेश्याम अधिकारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेता अग्नि खरेल, माओवादी उपमहासचिव जनार्दन शर्मा र नेता खिमलाल देवकोटा सहभागी छन् । 

यसैगरी, कानुन मन्त्रालयका सचिव फणिन्द्र गौतम, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा, मानव अधिकार आयोगका सदस्य सूर्य ढुंगेल पनि कोलम्बिया प्रस्थान गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको भ्रमण खर्च व्यवस्थापन स्विट्जरल्यान्ड दूतावासले गरेको हो । नेपाली टोली कोलम्बियामा ६ दिन रहनेछ । 

कांग्रेस प्रमुख सचेतक लेखकले भ्रमणमा कोलम्बियाको शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायको अध्ययन गरिने बताए । ‘कोलम्बियाको मोडलले नेपाललाई पनि सघाउँछ । संक्रमणकालीन न्याय टुंग्याई शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याएर हामी विश्वमै नमुना बन्न सक्छौँ,’ उनले भने । लेखकले संक्रमणकालीन न्यायसम्बन्धी कानुन अन्तिम चरणमा रहेको भन्दै कोलम्बियाबाट फर्केपछि पारित गर्ने गरी गृहकार्य गरिने पनि बताए । 
 

See More On

सुझावित समाचार