त्रिवि क्रिकेट मैदान स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा ६० करोड रुपैयाँ खर्च हुने भएको छ । जसमा नेपाल सरकारको ४० करोड र भारतले २० करोड रुपैयाँ सहयोग गर्नेछ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार त्रिवि क्रिकेट मैदानको निरीक्षण गर्दै २० करोड रुपैयाँ भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका छन् ।
‘क्यानसँगको सहकार्यमा भारत सरकार २० करोड सहयोग गर्न तयार छ,’ मन्त्री श्रेष्ठले भने, ‘सम्बन्धित निकायसँग वार्ता गरिरहेका छौँ, प्राप्त हुने आर्थिक सहयोग त्रिवि मैदानमा कसरी खर्च गर्ने र संरचना के–के बन्ने विषयमा छलफल भइरहेको छ ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका सचिव पारस खड्काले मन्त्री श्रेष्ठलाई मैदानमा भइरहेको कामबारे जानकारी गराएका छन् ।
मन्त्री श्रेष्ठले मर्मत भइरहेको पिचदेखि नेट अभ्यास गर्ने क्षेत्रको निरीक्षण गरेका थिए । अहिले पिचको माथिल्लो भागको माटो निकालेर पुनः सम्याउने काम भइरहेको छ । आगामी नोभेम्बरसम्म त्रिवि मैदानमा कुनै अन्तर्राष्ट्रिय खेल नहुने भएकाले मैदानको स्तरोन्नति गर्न लागिएको क्यानका सचिव खड्काले बताए । ‘नोभेम्बरसम्म यहाँ अन्तर्राष्ट्रिय खेलको तालिका छैन, यस अवधिमा मैदानको स्तरोन्नतिमा लागेका हौँ,’ उनले भने ।
यस्ता संरचना बनाइँदै छ
क्यानले ५–६ महिना कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका नभएकाले त्रिवि क्रिकेट मैदानमा विभिन्न संरचना बनाउन लागेको छ । प्यारापिट प्रवेशका लागि विभिन्न स्थानमा गेट राख्ने तयारी भइरहेको छ । आवश्यकताअनुसार विभिन्न सेक्सनमा फरक–फरक गेट व्यवस्था गर्ने तयारी भइरहेको सचिव खड्काले बताए ।
‘दर्शकहरू दुईवटा गेटबाट मात्र भित्र प्रवेश गर्छन्, आगामी दिनमा दर्शकलाई समस्या नहोस् भनेर हरेक सेक्सनका लागि फरक–फरक गेटको व्यवस्था गर्ने तयारीमा छौँ,’ उनले भने, ‘यसबाट दर्शकलाई आउन–जान सहज हुनेछ ।’ प्यारापिटको हरेक सेक्सनमा महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय हुनेछन् । यसअघि दर्शकले शौचालयको समस्या भोग्दै आएका थिए । ‘दर्शक बस्ने हरेक क्षेत्रमा महिला र पुरुषको शौचालय बनाउने योजनामा छौँ, अहिले प्राप्त गरेको पाँच महिनाको समय भनेको पर्याप्त हो,’ उनले भने ।
यसपटक अहिलेसम्मकै धेरै बजेट छ
विराजभक्त श्रेष्ठ, मन्त्री, युवा तथा खेलकुद
त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड विनियोजन भएको छ । साथै, भारतले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । हामी (मन्त्रालय, राखेप र क्यान) एउटै आवाज उठाऔँ । हामीले चार वर्षयताकै धेरै बजेट पाएका छौँ । हाम्रा चाहना असीमित छन्, तर स्रोत र साधन सीमित छ । सधैँ राज्यसँग आशा गरेर हुँदैन । राज्यलाई लगानीको प्रतिफल चाहिन्छ । क्यानले पनि आफैँ धेरै गर्न सक्छ ।
टेस्ट राष्ट्र बन्ने योजना सफल बनाऔँ
पारस खड्का, सचिव, क्यान
काम देखाउने समय भनेको यही हो । टेस्ट राष्ट्र बन्ने योजना सफल बनाउन संरचना तयार गर्नुपर्छ । अहिलेलाई दर्शक बस्ने क्षेत्र छुट्याएर व्यवस्थित महिला–पुरुष शौचालय बनाउने हो । भिआइपी क्षेत्रका संरचनादेखि पेभेलियन क्षेत्रलाई अझ राम्रो बनाउने योजना पूरा गर्नुपर्छ । मन्त्रालय र राखेपले देखाएको चासोप्रति क्यान उत्साहित छ ।
डिजिटल स्कोर बोर्ड निर्माण प्रक्रिया सुरु
त्रिविमा डिजिटल स्कोर बोर्ड निर्माणका लागि ठेक्का पास भइसकेको छ । पञ्चकन्या र हिमालयन जेभी कुपन्डोलले डिजिटल बोर्ड निर्माणको टेन्डर पाएको सचिव खड्काले बताए । ‘स्कोर बोर्डको टेन्डर पास भइसकेको छ,’ उनले भने, ‘फ्लड लाइटको पनि ४५ दिनसम्ममा टेन्डर सकिएर काम सुरु हुने प्रक्रियामा छ ।’
गत वर्ष वैशाखमा भएको एसिसी प्रिमियर कप फाइनलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालै खेलकुद मन्त्रालय र राखेपलाई फ्लड लाइट र स्कोर बोर्ड जडान गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री प्रचण्डको निर्देशनको एक वर्ष बित्दा पनि यी काम हुन सकेको छैन । यसैबीच, मन्त्री श्रेष्ठले त्रिवि मैदानको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा ४० करोड रुपैयाँ विनियोजन भएको बताए ।
उनका अनुसार फ्लड लाइट जडानका लागि २० करोड र अन्यका लागि २० करोड रुपैयाँ रहेको छ । ‘स्कोर बोर्डको कार्य दोस्रो चरणमा प्रवेश गरेकाले चाँडै तयार हुने विश्वास छ,’ श्रेष्ठले भने । मन्त्री श्रेष्ठले तत्काललाई भिभिआइपी कक्ष, स्तरीय पेभिलियन, विभिन्न स्थानमा शौचालय, पिउने पानी व्यवस्थापन, मिडिया सेन्टर र केही स्थानमा प्यारापिट बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
सन्दीपलाई दोस्रोपटक पनि भिसा दिएन
काठमाडौंस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक पनि भिसा दिन अस्वीकार गरेको छ । आइसिसी टी–२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारी गरिरहेका सन्दीपलाई दूतावासले बिहीबार भिसा दिन अस्वीकार गरेको हो । भिसा प्रक्रियाका लागि उनी दूतावास पुगेका थिए ।
गत ९ जेठमा दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यस विषयमा दूतावासले अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेख गोप्य हुने भएकाले यस विषयमा टिप्पणी गर्न नसकिने बताएको छ । ‘अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेख गोप्य हुने भएकाले यसबारे टिप्पणी गर्न सक्दैनौँ,’ दूतावासले भनेको छ । यसैबीच, क्यानले विज्ञप्ति जारी गर्दै दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको जनाएको छ । ‘सन्दीपको भ्रमणका निम्ति कूटनीतिक नोटसहित नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघका साथै आइसिसीबाट आवश्यक पहल हुँदासमेत दूतावासले भिसा दिएन,’ क्यानको विज्ञप्तिमा भनिएको छ ।