काठमाडौंको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थली भेडीगोठ सरकारी धारानजिक बा.४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
दुर्घटनामा धादिङ घर भई हाल काठमाडौंको तारकेश्वर– २ काभ्रेस्थलीकी २७ वर्षीया रमिता तोलांगीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
घाइते तोलांगीलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ।
दुर्घटनामा सिन्धुली घर भई हाल काठमाडौंको तारकेश्वर– २ का गाडीचालक २६ वर्षीय सुशील दमाईं, सोही ठाउँका सहचालक २० वर्षीय कृष्ण तामाङ, २६ वर्षीय गोपाल दमाईं, २५ वर्षीय टेकबहादुर मर्स्याङ्दी र १८ वर्षीया पवित्रा तोलांगी घाइते भएका छन्। उनीहरूको जरंखुस्थित मेगा ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताए। रासस