बागमती प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल : बजेट सन्तुलित बन्नेमा विपक्षीको आशंका

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथिको बुधबारको छलफलमा भाग लिँदै विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रमअनुसार आउने आगामी आर्थिक वर्षको बजेट सन्तुलित आउनेमा शंका व्यक्त गरेका छन् ।

उनीहरूले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हेर्दा सन्तुलित बजेट आउनेमा आफूहरू विश्वस्त हुन नसकेको बताउँदै बजेटलाई सन्तुलित बनाउन माग गरेका छन् । उनीहरूले विगतको कमजोरी सच्याएर सन्तुलित र समावेशी बजेट ल्याउन माग गरेका हुन् ।

यसरी माग गर्ने सांसदहरूमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता बहादुरसिंह लामा, रामकुमार पहाडी, मसिना खड्का, प्रभात तामाङ, उत्तम जोशी र समिता खड्गी रहेका छन् । यस्तै, राप्रपाका सांसद राजु विष्टले पनि सरकारको नीति तथा कायक्रममाथि टिप्पणी गर्दै बजेट सन्तुलित आउनेमा आफू सशंकित भएको दाबी गरे । 

बैठकमा कांग्रेसका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममा खासै नयाँ कुरा आउन नसकेको टिप्पणी गर्दै पुरानै शैलीमा क्षणिक चर्चा हुने विषय समेटेर नीति तथा कार्यक्रम आएको दाबी गरे । उनीहरूले नयाँ आर्थिक वर्षका लागि पुरानै नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए ।

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सरकारले ल्याएको नीति तथा कार्यक्रम लक्ष्यविहीन रहेको टिप्पणी गरे। उनले नीति तथा कार्यक्रमले स्पष्ट मार्ग समात्नुभन्दा पनि प्रदेशलाई दीर्घकालीन दायित्व थप्ने खालका कार्यक्रम ल्याउन खोजेको बताए । सरकारले कार्यान्वयन गर्नेभन्दा पनि चर्चाका लागि मात्र नीति तथा कार्यक्रम ल्याएको दाबी गरे ।

यस्तै, सांसद रामकुमार पहाडीले सामुदायिक विद्यालय सुधारमा सरकारले गरेको लगानी बालुवामा पानीसरह भएको टिप्पणी गरे । सामुदायिक विद्यालयको शैक्षिक सुधारमा सरकारले गरेको लगानीको प्रतिफल प्राप्त हुन नसकेको उनको दाबी छ । प्रदेश सरकारले स्थानीय सरकारसँगको समन्वयमा सामुदायिक विद्यालय सुधारका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । 

यसैगरी विकासका नाममा डाँडा भत्काउने काममा सरकारले लगानी गर्न नहुनेतर्फ सचेत गराउँदै सडकका नयाँ ट्रयाक खोल्नेभन्दा पनि ग्रामीण सडकलाई स्तरोन्नति गर्न सरकारको योजना केन्द्रित हुनुपर्ने बताए ।सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तापक्षीय सांसदहरू माओवादी केन्द्रका मातृका भट्टराई, तारानारायण श्रेष्ठ, एमालेका बालकुमारी विक, ठूला थामीले सरकारले ल्याएको नीति तथा कार्यक्रमको बचाउ गरेका थिए ।

सांसद मातृकाप्रसाद भट्टराईले सरकारले प्रदेशका सामान्यभन्दा सामान्य नगरिकले महसुस गर्ने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको दाबी गर्दै आगामी आर्थिक वर्षको बजेट पनि लक्षित समूहले राज्यको महसुस गर्ने गरी आउनुपर्ने बताए ।

यस्तै, सांसद थामीले सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट आउनुपर्नेतर्फ सचेत गराउँदै विपत् प्रभावित जिल्लाहरूमा सरकारले प्रतिकार्य तथा राहत सामग्री वितरणमा सन्तुलित ढंगबाट बजेट उपलब्ध गराउनुपर्ने बताए । उनले वातावरण संरक्षणमा पनि सरकारको बजेट केन्द्रित हुनुपर्नेमा सचेत गराए ।

सांसद बालकुमारी विकले पिछडिएको वर्गलाई सरकारले प्राथमिकताका साथ बजेट कार्यक्रम दिएर सशक्तीकरणमा सहभागी गराउन माग गरिन् । उनले सरकारको प्रयत्न सकारात्मक रहे पनि सन्तुलित बजेट ल्याउन नीति तथा कार्यक्रमको तालमेल मिल्न आवश्यक रहेको औँल्याइन् । बैठक बिहीबार ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।
 

सुझावित समाचार