पर्यटनको राजधानी सहर पोखरामा पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिता २०२४ हुने भएको छ।
पोखरा महानगरपालिका खेलकुद विकास समिति र गण्डकी प्रदेश रग्बी संघको आयोजनामा १८ र १९ जेठमा प्रतियोगिता हुने आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।
प्रतियोगितामा पोखरा सेभेन्स पुरुषसँगै विद्यालय टिआई छात्र-छात्राका खेलमा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए।
पुरुषतर्फको प्रतियोगितामा गण्डकी, बाग्मती, कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी सात प्रदेशसँगै विभागीय त्रिभुवन आर्मी र एपिएफ क्लबका १०/१० जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने गोदारले जानकारी दिए। यसैगरी, विद्यालय टिआई छात्र-छात्रातर्फ १० विद्यालयका एक सय २० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा पोखरा सेभेन्स पुरुषतर्फका च्याम्पियनले ५०, उपविजेताले ३० र तेस्रोले २० हजार नगदसँगै पदक, प्रमाणपत्र र पुरस्कार पाउनेछन्।
छात्र, छात्रातर्फ च्याम्पियनले आठ, उपविजेताले ६ र तेस्रोले चार हजार नगदसँगै पदक र प्रमाणपत्र पुरस्कार पाउनेछन्। दुवै प्रतियोगितामा बेस्ट प्लेयर र राइजिङ प्लेयरलाई ट्रफी र प्रमाणपत्र दिइने कार्यक्रममा जानकारी दिइयो। प्रतियोगितावाट उत्कृष्ट पुरुष खेलाडीहरू एसिया रग्बीको आयोजनामा आउँदो असोजमा हुने एसिया रग्बी सेभेन्स ट्रफी खेलमा भाग लिन पाउने अध्यक्ष गोदारले जानकारी दिए।
रग्बी खेलको माध्यमबाट खेल पर्यटनको विकास गर्ने, पोखरा सेभेन्स रग्बी प्रतियोगिताको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा विकास गर्ने, रग्बी खेलको व्यावसायिकता विकासका लागि सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने, निजी उद्दमीहरूलाई खेलमा लगानीका लागि वातावरण सिर्जना गर्नेसँगै खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूलाई खेलकुद भविष्यका लागि आधार तयार गर्ने उद्देश्य प्रतियोगिताको रहेको आयोजक समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए।