चीनको स्वशासित क्षेत्र तिब्बतका उपप्रमुख लाङ फुकोनले नेपाल र तिब्बतले आर्थिक, व्यापारिक, सांस्कृतिक एवं पर्यावरणीय संरक्षणको क्षेत्रमा सहकार्य गर्नुपर्ने बताएका छन् । उनले चीन सरकारको नीतिअनुसार छिमेकी देश नेपालसँग पूर्वाधार विकास गरी जनस्तरदेखि नै साझेदारी बढाउन सकिने बताएका हुन् ।
चीन भ्रमणमा रहेका नेपालका सञ्चारकर्मीसँगको भेटमा उनले ट्रान्स हिमालयन बहुआयामिक नेवटर्क विकास गरी आर्थिक, व्यापारिक, सांस्कृतिक तथा पर्यटनका क्षेत्रमा सहकार्य गर्न सकिने बताएका हुन् । नेपाल र चीनबीच पहाड–पहाड र नदी–नदी मात्रै नभएर विकाससँग पनि जोड्नुपर्ने बताए ।
नेपाल र चीनबीच सन् १९६० मा मैत्री सम्बन्ध स्थापना भएदेखि समान हैसियतमा एक–अर्कालाई सहयोग गरी अघि बढिरहेको बताए । ‘सन् २०१९ मा हाम्रा महासचिव सी जिङपिङले नेपालको भ्रमण गर्नुभयो । उक्त भ्रमणका वेला भएका छलफल एवं समझदारीले पनि अझ राम्रोे आधार बनाएको छ । नेपालका प्रधानमन्त्री र उपप्रधानमन्त्रीको चीन भ्रमणले पनि नेपालले चीनलाई दिएको महत्व स्पष्ट हुन्छ,’ उनले भने, ‘यसै वर्ष मैले पनि नेपालको भ्रमण गरेँ । नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको निमन्त्रणामा म नेपालको लगानी सम्मेलनमा सहभागी हुन गएको थिएँ । उक्त अवसरमा नेपाल र तिब्बतबीचको आर्थिक, व्यापारिक सम्बन्ध विस्तारमा छलफल भयो ।’
उपप्रमुख फुकोनले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)को नीतिअनुसार तिब्बतमा आर्थिक एवं सामाजिक विकासका कामले तीव्रता पाइरहेको बताए । उनले गरिबी निवारण, संस्कृति तथा वातावरणीय पर्यावरणको संरक्षण, विकासलगायत अभ्यास भइरहेको जानकारी दिए ।