‘सगरमाथा आरोहण मार्गको डोरी काटिएको भन्दै निर्मलले भ्रम फैलाए’

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

सगरमाथा आरोहण मार्गमा टाँगिएको डोरी (फिक्स्ड रोप)मा कुनै समस्या नरहेको सरकारले जनाएको छ । आरोही निर्मल पुर्जाले मार्गको डोरी काटिएको भन्दै, भ्रम फिँजाएको भन्दै पर्यटन विभाग र पर्वतारोहण सञ्चालक संघ नेपालले ध्यानाकर्षण गरेको छ । 

आरोही पुर्जाले १३ जेठमा सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै सगरमाथाको बाल्कोनी र साउथ समिटबीचको डोरीको भाग काटिएका कारण आरोहणमा समस्या भएको गुनासो गरेका छन् । पुर्जाले रेडियो सेटमा बाबु शेर्पासँग कुरा गर्दै पिक प्रमोसनका शव व्यवस्थापन टोली डोरी नभएका कारणले फर्किनुपरेको बताएका छन् । 

चर्चित हुने गरी अनधिकृत सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न पुर्जा र अन्य व्यक्तिहरूउपर छानबिन प्रक्रिया अगाडि बढाएको विभागले जनाएको छ । आरोही पुर्जाले लगाएको आरोपपछि पनि पायोनियर एड्भेन्चर प्रालिको टोलीले सोमबार बिहान १२:४५ बजे सगरमाथा आरोहण गरेको विभागको जिकिर छ ।

आरोहण गर्न बाँकी रहेका सम्पूर्ण आरोहीहरूमा ढुक्कसँग सगरमाथा आरोहण अभियानमा लाग्न पनि विभागले आग्रह गरेको छ । भ्रामक सूचना प्रवाह गर्नाले नेपाली पर्वतीय पर्यटन र राष्ट्रकै इज्जतमा धक्का पुग्न सक्ने हुनाले यस्ता समाचार सम्प्रेषण नगर्न विभागको आग्रह छ । 

सुझावित समाचार