अचेल रारा तालवरपर खुला पशुचौपायाले भरिभराउ छ। ताल क्षेत्रकाे हरियाली तथा भर्खरै फुल्न लागेका फूल पशुचाैपायाले खाएर सुक्खा बनएका छन्। जसले गर्दा तालवरपरको सुन्दरातामा ह्रास आउँदै गएको हो।
राष्ट्रिय निकुञ्जभित्र अझ रामसार क्षेत्रमा पर्ने ताल आजभोलि चरन क्षेत्र बनेको छ। विगत केही वर्षयता खुला चरिचरन र छाडा पशुचौपाया बस्ने स्थान बन्नाले राराकाे सुन्दरतामा प्रभाव पर्ने देखिन्छ।

छाडा पशुचौपायाको मलमूत्रले रारातालमा पाइने विश्वमै दुर्लभ मानिएकाे असला माछा र अन्य जलचरमा समेत असर पर्ने जानकार बनाउँछन्। यसबारे रारा राष्ट्रिय निकुञ्जले खासै ठोस कदम चाल्न सकेको देखिँदैन। तालवरिपरिका चौर तल्लो मिली, माथिलो मिली, दोफ्या, ठाकुरज्युले लात्ती हान्ना, ओखरबोटलगायतका क्षेत्र खुला चरिचरनका रूपमा प्रयाेग हुँदै आएकाे छ।
यस विषयमा रारा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख वरिष्ठ संरक्षक अधिकृत राजु घिमिरेले मुख्य समस्या नै खुला चरिचरन र छाडाचौपाया भएको बताए। उनले याे विषयमा छलफल भइरहेकाे र व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘सीमित तोकिएको ठाउँमा पुर्जी काटेर मात्रै चरिचरन गर्ने भनिए पनि पूरै छाडा पशुचाैपायाले ताल क्षेत्रमा पलाउन थालेको घाँस खाएर नष्ट बनाएका छन्।’

रारा क्षेत्रमा खुला चरिचरन र छाडा चौपाया अहिलेको मुख्य समस्या भएकाे रारा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णुबहादुर रावलले बताए। उनका अनुसार हिमाली राष्ट्रिय निकुञ्ज नियमावली, २०३६ मा मध्य्वर्ती छेत्रवरिपरिका उपभोक्ताले तोकिएको ठाउँमा चरिचरन गर्न पाउने व्यवस्था भए पनि पशुचाैपाया छाडा छोडेर समस्या भएको छ।
उनले पहिलो चरणमा तालनजिकका चारवटा मध्यवर्ती उपभोक्ता समूहलाई बोलाएर यसबारे सल्लाह गर्ने बताए। दीर्घकालीन समाधानका लागि सेफोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट हिमचितुवा ल्याई रारा राष्ट्रिय निकुञ्जमा छोडेपछि खुला चरिचरनको दीर्घकालीन समाधान हुने बताए।

रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका सूचना अधिकारी जयहरि धितालका अनुसार रारा राष्ट्रिय निकुञ्जभित्र हरेक पशु चौपाया प्रवेश गराउन शुल्क तिरेर पुर्जी काट्नुपर्ने व्यवस्था छ। प्रत्येक भेडाबापत १० रुपैयाँ, भैँसीकाे ५० र घोडाको ९५ रुपयाँ तिर्नुपर्ने व्यवस्था छ। अब राराकाे सुन्दरता जाेगाउन चरिचरनमा कडाइ गर्ने उनकाे भनाइ छ।


