नवौँ संस्करणको टी–२० विश्वकपमा डेब्यु गर्दै तीन राष्ट्र

बुधबार, ९ जेठ, २०८१
डिजिटल संस्करण

अमेरिका र वेस्ट इन्डिजले जुन–जुलाईमा आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छन् । अर्को महिनादेखि सुरु हुने नवौँ संस्करणको विश्वकपमा पहिलोपटक सर्वाधिक २० राष्ट्रले भाग लिँदै छन् । सन् २०१४ देखि २०२२ सम्मको संस्करणमा १६ टोलीबीच प्रतिस्पर्धा भएको थियो । आइसिसीले विश्वकपमा एसोसिएट राष्ट्रलाई एक्सपोजर प्रदान गर्न यसपटक सहभागी संख्या २० पुर्याएको हो । 

आइसिसीले विश्वकपमा चार संख्या बढाउँदा तीन नयाँ राष्ट्रले डेब्यु गर्ने अवसर पाएका छन् । आयोजक राष्ट्रका रूपमा अमेरिका यसअघि नै छनोट भइसकेको थियो । सन् २०११ को एकदिवसीय विश्वकप खेलेको क्यानडा पहिलोपटक छिमेकी राष्ट्रहरूले आयोजना गर्ने विश्वकपमा खेल्दै छ । दक्षिण अफ्रिकी राष्ट्र युगान्डा पनि यो पाली छनोट भयो । टी–२० विश्वकपमा दुईपटक मात्र कुनै पनि नयाँ राष्ट्र छनोट भएनन् । सन् २०१२ र २०२२ को संस्करणमा टेस्ट मान्यताप्राप्त बाहेक अन्य राष्ट्रले डेब्युका रूपमा प्रतिस्पर्धा गर्न सकेनन् । 

छनोट प्रतियोगितामा सहभागी राष्ट्रले अन्तिम स्थान बनाउन सकेनन् । सन् २००७ देखि २०२४ सम्मको विश्वकपमा अहिलेसम्म २४ राष्ट्रले स्थान सुरक्षित गरेका छन् । पहिलो संस्करणमा आइसिसीको पूर्णकालीन सदस्य अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, जिम्बावे, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले सीधै स्थान बनाएका थिए । छनोट चरण पारी गरी केन्या र स्कटल्यान्डले विश्वकप खेलेका थिए । 

सन् २००९ मा युरोपियन राष्ट्र मात्र विश्वकपमा छनोट भए । आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोट पार गरेका थिए । सन् २०१० को संस्करणमा अफगानिस्तानले डेब्यु गरेको थियो । सन् २०१४ मा तीन राष्ट्र छनोट भए । यसमा एसिया राष्ट्रहरू हङकङ, युएई र नेपालले पहिलोपटक विश्वकप खेलेका थिए । नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा डेब्यु विश्वकपमै गरेको थियो । 

बंगलादेशमा भएको विश्वकपमा नेपालले हङकङ र अफगानिस्तानलाई हराएको थियो । सन् २०१६ मा ओमान मात्र डेब्यु राष्ट्र बनेको थियो । सन् २०२१ मा नामिबिया र पपुवा न्युगिनीले डेब्यु गरेका थिए । 

क्यानडा : नेपालका पूर्वमुख्य प्रशिक्षक पबुदु दासानायेकेको प्रशिक्षणमा रहेको क्यानडाले एकदिवसीय मान्यताप्राप्त गरेको नौ वर्ष पछि टी–२० विश्वकपमा स्थान बनाएको हो । सन् २०२३ को सेप्टेम्बरमा भएको छनोट खेलमा शीर्ष स्थानमा रहँदै क्यानडाले विश्वकपको टिकट पक्का गर्यो । छनोटमा क्यानडाले पाँचमध्ये तीत खेलमा जित निकाल्यो । सन् २०२२ मा पुवुदु मुख्य प्रशिक्षक बनेका थिए । उनले साद विन जाफरलाई कप्तानी जिम्मेवारी दिएपछि क्यानडाले अन्तर्राष्ट्रिय क्रिकेट उत्कृष्ट नतिजा निकालेको हो । सन् २०११ को विश्वकपमा पुवुदुकै प्रशिक्षण तथा कप्तानीमा क्यानडाले एकदिवसीय विश्वकपमा डेब्यु जनाएको थियो । आइसिसीको टी– २० वरीयतामा क्यानडा २३औँ स्थानमा छ । 

युगान्डा : गत वर्ष अफ्रिकी छनोट प्रतियोगितामा युगान्डाले सनसनी नतिजा निकाल्यो । छनोट प्रतियोगितामा युगान्डाले आइसिसीको पूर्णकालीन सदस्य जिम्बावेलाई हराउँदै पहिलोपटक टी–२० विश्वकपको स्थान सुरक्षित गर्यो । महत्वपूर्ण खेलमा युगान्डाले जिम्बावेलाई पाँच विकेटले हराएको थियो । यस खेलमा जिम्बावे विजयी हुँदा युगान्डाको विश्वकप खेल्ने सपना तुहिन्थ्यो । जिम्बावेले २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन जोडेको थियो । युगान्डाले १९.१ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३८ रन बनायो । अफ्रिकी छनोटमा नामिबिया शीर्ष र युगान्डा दोस्रो स्थानमा रहँदै विश्वकप स्थान पक्का गरेका हुन् । युगान्डाले ६ मध्ये पाँच खेलमा जित निकाली १० अंक बनायो । नामिबियाले ६ खेलमै शतप्रतिसत जित निकालेको थियो । जिम्बावे छनोट खेलमा तेस्रो भयो । सन् १९९८ मा युगान्डा आइसिसीको एसोसिएट सदस्य बनेको थियो । युगान्डा टी–२० वरीयताको २२औँ स्थानमा छ । 

अमेरिका : आयोजक राष्ट्रको रूपमा अमेरिकाले छनोट खेल नै खेल्नु परेन् । आइसिसीको टी–२० वरीयतामा अमेरिका १९औँ स्थानमा छ । यसपटक डेब्यू गर्ने राष्ट्रमा अमेरिकाको वरीयता माथि रहेको छ । यस सिजनमा अमेरिकाले केवल ११ अन्तर्राष्ट्रिय टी–२० खेलमा सहभागिता जनाएको छ । सन् १९६५ मा अमेरिकाले आइसिसीको एसोसिएट सदस्यता प्राप्त गरेको थियो । तर, अमेरिकाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी–२० खेल सन् २०१९ मा युएईविरुद्ध खेल्यो । अमेरिकाले अहिलेसम्म १४ टी–२० अन्तर्राष्ट्रिय खेलमा १४ जित र नौ हारको सामना गरेको छ ।

क्यानले सन्दीपको भिसा प्रक्रिया बढायो 
 नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन भिसा प्रक्रिया अगाडि बढाएको छ । यसअघि क्यानले टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ । त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन् । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुलेको हो । क्यानका सचिव पारस खड्काले सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाएको र आईसिसीसँग समेत पहल भइरहेको जनाए । 

कुन संस्करणमा कुन राष्ट्रले गरे डेब्यु ?
२००७ : अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, केन्या, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, जिम्बावे
२००९ : आयरल्यान्ड, नेदरल्यान्ड
२०१० : अफगानिस्तान
२०१४ : नेपाल, हङकङ, युएई
२०१६ : ओमान
२०२१ : नामिबिया, पपुवा न्युगिनी
२०२४ : क्यानडा, युगान्डा, अमेरिका

सुझावित समाचार