चौथो अन्नपूर्ण म्याराथन २१ जेठमा

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण

पदयात्राका लागि विश्वकै १० मध्येको एक अन्नपूर्ण पदमार्गमा २१ जेठमा चौथो संस्करणको अन्नपूर्ण म्याराथन २०८१ हुने भएको छ।

‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ जुन थर्ड अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारेर अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा म्याराथन हुने भएको हो।

अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकास, पर्यटन प्रवर्द्धनसँगै खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित म्याराथन आयोजना गर्दै आएको आयोजक समितिका अध्यक्ष एवं म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए।

३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रूपमा मनाइँदै आइएको छ।

सोही दिनको अवसर पारेर पदयात्रा मार्गमा म्याराथन आयोजना गर्दै आइएको अध्यक्ष गुरुङको भनाइ छ। ४२.१९५ किलोमिटरको म्याराथन चार हजार एक सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु हुनेछ।

त्यसपछि माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, तउल, घुजुङ चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै एक हजार नाै सय ५५ मिटर उचाइमा रहेको घान्द्रुकमा आएर सम्पन्न हुनेछ।

महिला तथा पुरुष दुवैमा प्रथम हुने धावकले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजारसँगै पदक र प्रमाणपत्र पुरस्कार पाउनेछन्। यसैगरी विदेशीका लागि प्रोत्साहन पुरस्कारस्वरूप विशेष पुरस्काको व्यवस्था गरिएको म्याराथनमा सहभागिताका लागि पुरुषतर्फ दर्ता शुल्क सात हजार र महिलातर्फ पाँच हजार तोकिएको छ।

यसअघि म्याराथनको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमाल, दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाट र तेस्रो संस्करणको उपाधि जुम्लाका धीरबहादुर बुढा र महिलातर्फ गणना भण्डारीले जितेका थिए।
 

सुझावित समाचार