बागमती प्रदेशको राजधानी हेटौँडामा आजबाट प्रदेशको सुरक्षा समन्वय समिति बैठक सुरु हुँदै छ। बैठकमा सहभागी हुन चारवटै सुरक्षा निकायका प्रमुख र प्रदेशभित्रका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौँडा आइपुगेका छन्।
दुई दिनसम्म चल्ने बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहभागी हुँदै छन्। बैठकमा जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरू पनि सहभागी हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिए।
जिल्ला सुरक्षा समितिमा प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुख एवं सहायक प्रमुख जिल्ला अधिकारी पदाधिकारी रहने व्यवस्था छ। दिउँसो ३ बजेबाट सुरु हुने बैठकको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने कार्यक्रम छ।
बैठकमा सहभागी हुन गृहमन्त्री रवि लामिछाने पनि आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिए । उनका अनुसार गृहमन्त्री लामिछाने भने बुधबारबाट मात्रै बैठकमा सहभागी हुनेछन्।
बैठकमा प्रदेशको आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ, संघीय सरकारका गृहसचिव एकनारायण अर्याल, प्रवक्ता नारायण भट्टराई तथा राष्ट्रिय परिचयपत्र विभागका प्रमुख युवराज कट्टेललगायतले सम्बोधन गर्ने कार्यसूची रहेको प्रजिअ सेढाईंले जानकारी दिए।