चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु. ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाखबराबर व्यापार घाटा व्यहोरेको छ।
भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार गत वैशाख मसान्तसम्ममा रु. १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाखबराबरको वस्तु आयात भएको थियो भने रु. एक खर्ब २६ अर्ब १७ करोड ३५ लाखबराबरको निर्यात भएको थियो।
विभागका अनुसार चालू आवको १० महिनामा रु. १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाखबराबरको वैदेशिक व्यापार भएको छ। यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा भारतसँग नेपालले रु. सात खर्ब २९ अर्ब ७० करोडबराबरको व्यापार घाटा व्यहोरेको छ। भारतबाट रु. आठ खर्ब १५ अर्ब ७२ करोडको आयात र रु. ८६ अर्बको निर्यात भएको छ।
नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा रु. दुई खर्ब ३८ अर्ब ५५ करोडबराबर छ। दश महिनामा चीनसँग रु. दुई खर्ब ४० अर्ब ८३ करोडबराबरको आयात हुँदा रु. २२ अर्ब ७४ करोडबराबरको निर्यात भएको छ।
वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ। यो अवधिमा रु. एक खर्ब १५ अर्ब ६७ करोडबराबरको डिजेल रु. ५६ अर्ब ८० करोडबराबरको डिजेल र रु. ४६ अर्बबराबरको खाना पकाउने ग्यास आयात भएको छ। सोही अवधिमा रु. २४ अर्ब एक करोडबराबरको मोबाइल फोन आयात भएको छ।
नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट रु. आठ अर्ब ७९ करोड, अलैँची रु. छ अर्ब ९१ करोड, फलामजन्य वस्तु रु. पाँच अर्ब ५२ करोड र पाम आयल रु. पाँच अर्ब ६० करोडबराबर छ।