म्यानचेस्टर सिटीले लगातार चौथोपटक इंग्लिस प्रिमियर लिग उपाधि रक्षा गरेको छ । प्रिमियर लिगको आइतबार राति अन्तिम चरणका खेल एकैसाथ भएका थिए । सिटीले एकपक्षीय खेलमा वेस्टहाममाथि ३–१ को जित निकाल्यो । सिटीको जितसँगै दोस्रो स्थानमा रहेको आर्सनलको उपाधि जित्ने सपना समाप्त भएको थियो । च्याम्पियन टोलीले ३८ खेलमा सर्वाधिक ९१ अंक बटुल्यो ।
लगातार चारपटक लिग जित्ने सिटी पहिलो क्लब बनेको छ । आर्सनल ८९ अंकका साथ दोस्रो स्थानमा छ । आर्सनल च्याम्पियन बन्न जितले मात्र पर्याप्त थिएन । अर्को खेलमा सिटी वेस्टहामसँग पराजित हुनुपर्ने थियो । तर, सिटीको जितले आर्सनलको च्याम्पियन हुने सम्भावना समाप्त भएको हो ।
सिटीको जितमा फोडनले दुई गोल गरेका थिए । उनले खेलको दोस्रो मिनेटमै च्याम्पियन टोलीलाई १–० को अग्रता दिलाए । खेलको १८औँ मिनेटमा सिटी २–० ले अघि रह्यो । फोडनले दुवै गोल बर्नान्डो सिल्भाको पासमा गरेका हुन् । वेस्टहामले मध्यान्तरअघि गोलअन्तर २–१ मा झारेको थियो । खेलको ४२औँ मिनेटमा वेस्टहामका कुडुसले गोल गरेका थिए ।
आर्सनलले एभर्टनमाथि २–१ को जित निकालेको छ । लिगको अन्तिम दिन बलिया क्लबले स्पष्ट ३ अंक जोड्न सफल भए । म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २–० ले हरायो । चेल्सीले बाउनेमाउथलाई २–१ ले पाखा लगायो । पूर्वविजेता लिभरपुलले वल्भह्याम्टनमाथि २–० को नतिजा निकालेको थियो । टोटनह्याम सेफिल्ड युनाइटेडविरुद्ध ३–० ले विजयी भयो । फराकिलो जितअन्तर निकाल्ने क्रममा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ५–० ले निराश पार्यो ।
पूर्वविजेता लिभरपुल ८२ अंकका साथ तेस्रो स्थानमा रह्यो । एस्टन भिल्लाले ६८ अंक जोड्यो । भिल्ला चौथो स्थानमा रहँदै अर्को वर्षको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्थान पक्का गरेको छ । प्रिमियर लिगका शीर्ष चार टोली च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान छ । चेल्सी, न्युकास्टल, म्यानचेस्टर युनाइटेड र वेस्टहाम भने च्याम्पियन्स लिगको दौडबाट बाहिरिएका छन् । टोटनह्याम ६६ अंकका साथ पाँचौँ भयो ।
६३ अंक जोडेको चेल्सी छैटौँ स्थानमा रहँदा न्युकास्टल ६० अंकसहित सातौँ भयो । म्यानचेस्टर युनाइेटड ६० अंकका साथ आठौँ स्थानमा रहेको छ । यस सिजनमा ब्रर्नली, लुटनटाउन र सेफिल्ड युनाइेटड रेलिगेसनमा परेका छन् ।