‘अटोमेटिक रुट’मार्फत दुई अर्ब १६ करोड एफडिआई स्वीकृत

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

उद्योग विभागले कार्यान्वयनमा ल्याएको अटोमेटिक रुट (स्वचालित मार्ग)बाट वैशाखमा दुई अर्ब १६ करोड प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) स्वीकृत भएको छ । विभागले तेस्रो लगानी सम्मेलनको अवसर पारेर १७ वैशाखमा स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।

स्वचालित रुट प्रणाली कार्यान्वयनमा आएयता २१ परियोजनाको एफडिआई स्वीकृत भएको विभागले जनाएको छ । स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने गरी शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी स्थापना गर्न सकिन्छ । त्यस्तै, विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको कम्पनीमा पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिई स्वतः स्वीकृति प्राप्त गर्न पनि सकिने उद्योग विभागले जनाएको छ ।

लगानीकर्ताले स्वचालित मार्गमार्फत इमेलबाट निवेदन दिई विदेशी लगानी प्राप्त गर्न सक्ने र सोही आधारमा दर्ता गर्न सक्ने बताइएको छ । सूचना प्रविधिमा आधारित उद्योगहरूका लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागू नभएको विभागले जनाएको छ । 

वैशाखमा मात्रै साढे १३ अर्ब एफडिआई स्वीकृत 
उद्योग विभागले वैशाख महिनामा मात्रै स्वचालित रुट र परम्परागत विधिबाट ५९ अर्ब एफडिआई स्वीकृत गरेको छ । जसमा कुल १३ अर्ब ४४ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता छ । परम्परागत तरिकाबाट ११ अर्ब ३८ करोड रुपैयाँको ३८ एफडिआई स्वीकृत भएको छ । 

सरकारले १६ र १७ वैशाखमा काठमाडौंमा स्वदेशी तथा विदेशी लगानीकर्ता आमन्त्रण गरेर लगानी सम्मेलन आयोजना गरिएको थियो । लगानी सम्मेलन गरेकै महिना ठूलो परिमाणमा एफडिआई स्वीकृत भएको विभागको तथ्यांकले देखाउँछ । वैशाखमा स्वीकृत भएको एफडिआईबाट १७ सय ३४ जनाले रोजगारी पाउने प्रतिबद्धता जनाइएको छ ।

१० महिनामा सवा ४३ अर्ब एफडिआई स्वीकृत
चालू आवको पहिलो १० महिनामा तीन सय २८ परियोजनाको ४३ अर्ब १८ करोड एफडिआई स्वीकृत भएको छ । जसमध्ये दुई अर्ब १६ करोड रुपैयाँ विदेशी लगानी स्वचालित मार्गबाट र ४१ करोड दुई लाख रुपैयाँ परम्परागत प्रणालीबाटै स्वीकृत भएको विभागले जनाएको छ । साउनदेखि वैशाखसम्म स्वीकृत एफडिआईबाट कुल १७ हजार दुई सय ३४ जनाले रोजगारी पाउने प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । प्रस्तावित एफडिआई अधिकांश साना परियोजनामा केन्द्रित रहेको विभागको तथ्यांकले देखाउँछ । मझौला र ठूला उद्योग तथा परियोजनमा नगण्य मात्र विदेशी लगानी प्रस्ताव आउने गरेको विभागले जनाएको छ । त्यो पनि अधिकांश सेवा र पर्यटन क्षेत्रका रहेका छन् ।

नौ महिनामा भित्रियो साढे ६ अर्ब मात्रै
नेपालमा विदेशी लगानी स्वीकृति र वास्तविक आप्रवाहबीच ठूलो खाडल देखिन्छ । प्रस्तावित लगानीको एकचौथाई पनि विदेशी लगानी भित्रिन मुस्किल रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चालू आवको चैतसम्म उद्योग विभागले विभिन्न देशका लगानीकर्ताको ३० अर्ब विदेशी लगानीको प्रस्ताव स्वीकृत गरेको छ । तर, सोही अवधिमा विदेशी लगानीको वास्तविक आप्रवाह ६ अर्ब ४९ करोड रुपैयाँ मात्र रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसरी हुन्छ अटोमेटिक रुटबाट एफडिआई स्वीकृत
स्वचालित मार्गबाट विदेशी लगानी स्वकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागको विद्युतीय प्रणाली लगइन गरेर आफ्नो विवरण र कागजात प्रविष्ट गर्नुपर्छ । विद्युतीय प्रणालीमा आवश्यक विवरण र कागजात प्रविष्ट गरेपछि त्यस्तो लगानी स्वीकृतिका लागि विद्युतीय प्रणालीमा पेस गर्नुपर्छ ।  

विदेशी लगानी स्वीकृतिका लागि विभागको प्रणालीमा निवेदन प्राप्त भएपश्चात् प्रविष्ट गरेको इमेलमा आवेदन नम्बरसहित लगानी स्वीकृत भएको कन्फर्मेसन दिने विभागले जनाएको छ । विदेशी लगानी स्वीकृतिको जानकारी दिएपछि ऐन तथा नियमावलीबमोजिम निजको लगानी स्वतः स्वीकृत भएको मानिनेछ ।

See More On

सुझावित समाचार