भारतबाट गहुँसमेत तस्करी भएर भित्रिरहेको भेटिएको छ । कञ्चनपुरको दक्षिणी नाका बेलौरी बेलडाँडी नाकाबाट अहिले गहुँ तस्करी भइरहेको हो ।
तस्कर समूहहरूले भारतमा उत्पादन भएको गहुँ नेपालमा भित्र्याइरहेका हुन् । तस्कर समूहले तस्करीको शैली फेरेर गहुँ तस्करी थालेको हो । गत वैशाखमा प्रहरीको बेलौरीको पहुँचबाट सयौँ क्विन्टल गहुँ बरामद गरेको महिना दिन पनि बित्न नपाउँदै फेरि सशस्त्र प्रहरीले जेठ पहिलो साता तीन सय ६१ बोरा गहुँ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले भारतबाट अवैध रूपमा नेपाल भित्रिरहेको गहुँ बरामद गरेको बताए । तस्कर समूहले ल्याएको अवैध गहुँदेखि व्यावसायिक सामान सशस्त्र प्रहरीले बरामद गरेर भन्सारलाई बुझाइदिएको छ । स्थानीयले तस्करी गरेर राज्यलाई राजस्व छली गर्नुभन्दा स्वाभिमानका साथ भन्सार राजस्व काटेर व्यवसाय गर्न अनुरोध गरेका छन् ।