कांग्रेस संसदीय दलको ठहर– बिहीबार संसद्मा सभामुखको भूमिका तटस्थ भएन

शनिबार, ५ जेठ, २०८१
डिजिटल संस्करण

कांग्रेस संसदीय दलको बैठकले बिहीबार संसद्मा भएको घटनामा सभामुखको भूमिका तटस्थ नभएको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सभामुखले आफू निर्वाचित भएको दलको निर्देशनमा भूमिका खेलेको निष्कर्ष निकालेको हो । 

बैठकले सभामुखलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रहसमेत गरेको छ । ‘संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिन्छ । सम्माननीय सभामुखले प्रमुख विपक्षी दल बेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदासमेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ,’ प्रमुख सचेतक रमेश लेखकले भने । 

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न पुनः मागसमेत गरेको छ । सहकारीका बचतकर्ताले राखेको रकमको सुरक्षाको ग्यारेन्टी र ठगीमा संलग्नमाथि छानबिनको सुनिश्चितता नभएसम्म संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसले स्पष्ट पारेको छ । सरकार यस विषयमा गैरजिम्मेवार बनेको र संलग्नको पक्षमा लागेको ठहर गरेको छ । कांग्रेसले सरकार र सत्तापक्षलाई संवेदनशील बन्न नसकेको भन्दै चेतावनीसमेत दिएको छ ।

‘यो विषय सम्पूर्ण नेपाली जनताको चासो र सरोकारको विषय भई संसद्बाहिर पनि गम्भीर रूपले उठिरहेको छ । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रूपले पुष्टि हुँदै आएको छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानबिन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ,’ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा छ । बैठकलगत्तै कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूसँग छलफलसमेत गरेको थियो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा प्रतिपक्षमा रहेका सबै दलहरू समिति गठनको पक्षमा रहेको बताए ।

सुझावित समाचार