मासिक १५ हजारभन्दा पनि कम तलब, थोरै तलबका कारण शिक्षकहरूले जागिर छाड्ने क्रम बढ्दो, छैन अन्य सुविधा
बालविकास (इडिसी) तहलाई बालबालिकाको सिकाइको जग मानिन्छ । भर्खर सिकाइ सुरु गरेका कलिला बालबालिकालाई अक्षर चिनाउन, बोल्न सिकाउन सहज पक्कै हुँदैन । मिहिनेत धेरै गर्नुपर्ने, समय धेरै खर्चनुपर्ने यही तहमा पढाउने शिक्षक–शिक्षिकाको तलब सुविधा भने निकै कम छ ।
एकातर्फ शिक्षक–शिक्षिकालाई पुग्दो तलब सुविधा नदिने र अर्कोतर्फ सरकारले तल्लो तहमा बजेट कम दिँदा सामुदायिक विद्यालयलाई बालविकास तह सञ्चालन गर्न निकै कठिन हुने गरेको छ । देशभरका सामुदायिक विद्यालयका बालविकास तहमा ३६ हजार पाँच सय ९३ जना बालविकास शिक्षक छन् । त्यसमा १० प्रतिशत पुरुष र बाँकी ९० प्रतिशत महिला छन् । यस तहमा नौ लाख हाराहारी विद्यार्थी अध्ययनरत छन् । अन्याय र विभेद खेपिरहेको भन्दै बालविकास तहका शिक्षकहरूले तलब वृद्धिको माग गर्दै एक वर्षअघि काठमाडौंको माइतीघर क्षेत्रमा आन्दोलन गरेका थिए । उनीहरूको मागप्रति सरकार लचिलो बनेको थियो । तर, उक्त माग अहिलेसम्म पूरा भएको भने छैन ।
सरकारले जायज मागसमेत पूरा नगर्दा तल्ला तहमा शिक्षण सिकाइ कठिन भइरहेको नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष कृष्णाकुमारी थापामगरले बताइन् । बालविकास तहमा अध्ययन गराउँदै आएकी उनले यस तहलाई विद्यालयको संरचनाभित्र नराखिएको र अन्याय गरिएको बताइन् । कतिपय विद्यालयमा त थोरै तलबका कारण शिक्षकहरूले जागिर छाड्ने क्रम बढेको, पढाउने शिक्षक नपाउने अवस्था रहेको उनको भनाइ छ ।
कति छ बालविकास तहका शिक्षकको तलब ?
उनका अनुसार यस तहको शिक्षण सिकाइ विधि माथिल्लो तहमा भन्दा कठिन हुन्छ । विद्यार्थीको चौतर्फी ख्याल गर्नुपर्ने हुन्छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खटिनुपर्छ । तर, तलब भने १५ हजारभन्दा पनि कम छ । कतिपय स्थानीय तहले त १२ हजार तलब दिनसमेत आनाकानी गरेको अध्यक्ष थापामगरले जानकारी दिइन् ।
बालविकास तहमा अध्यापन गराउने शिक्षकले केन्द्र सरकारबाट १० हजार र स्थानीयबाट पाँच हजार गरी मासिक १५ हजार तलब पाउँछन् । तर, कतिपय स्थानीय तहले केन्द्र सरकारले दिएको १० हजार मात्रै दिएर उनीहरूमाथि अन्याय गरिरहेको शिक्षकहरूको गुनासो छ । थोरै तलब, त्यसमा पनि स्थानीय तह र केन्द्र दुई ठाउँमा हात थाप्नुपर्ने अवस्थाले आजित भएको अध्यक्ष थापामगरको भनाइ छ ।
त्यसो त तलब सुविधा कम भएकै कारण तल्लो तहमा शिक्षण सिकाइ प्रभावकारी नभएको गुनासो पनि अभिभावकबाट आइरहेको छ । सामुदायिक विद्यालयमा माथिल्लो तहमा भर्ना हुन आउने विद्यार्थी संख्या बढिरहे पनि बालविकासमा भर्नादर कम छ । यो दर बढाउन सरकारले लगानी बढाउनुपर्ने शिक्षकहरू बताउँछन् ।
बालविकास तहका शिक्षकमाथि अत्याचार भएको भन्दै डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले बुधबार माइतीघरमा दिनभरि उभिएर एकल आन्दोलन गरेका छन् । उनले बालविकासका शिक्षकका मागका सम्बन्धमा सरकारले चासो नदिएको भन्दै प्रदर्शन गरेका थिए । शिक्षाको जग नै बालविकास तह भएको, तर यस तहमा अध्ययन गराउने शिक्षक अन्यायमा परिरहेको उनको भनाइ छ ।