आयुष र एरिकलाई बाहिर राख्दै प्रारम्भिक टिम घोषणा

मिडफिल्डर आयुष घलान र एरिक विष्टसहित सुरजजिउ ठकुरी तथा गोलकिपर दीप कार्कीलाई बाहिर राख्दै प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले वसन्त जिम्बालाई पहिलोपटक क्याम्पमा बोलाए

बिहिबार, ३ जेठ, २०८१
डिजिटल संस्करण

युवा मिडफिल्डर आयुष घलान र एरिक विष्टलाई बाहिर राख्दै प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक घोषणा गरेका छन् । फिफा विश्वकप– २०२६ अन्तर्गत समूह ‘एच’मा नेपाल र युएईबीच २४ जेठमा खेल हुँदै छ । खेलका लागि प्रशिक्षक एनेसले मंगलबार २८ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका आयुष र एरिकसँगै गोलकिपर दीप कार्की, मिडफिल्डर सुरजजिउ ठकुरीलाई टोलीमा समावेश गरेका छैनन् । अधिकांश इंग्ल्यान्ड भ्रमणमा पुगेका नै टोलीमा समावेश छन् । घाइते भएपछि इंग्ल्यान्ड भ्रमणमा नरहेका रक्षक अनन्त तामाङ र मिडफिल्डर रोहन कार्कीलाई बोलाइएको छ । 

विभागीय टोली त्रिभुवन आर्मी क्लबका वसन्त जिम्बाले पहिलोपटक क्याम्पमा स्थान बनाएका छन् । टोलीले बिहीबारबाट प्रशिक्षण सुरु गर्ने व्यवस्थापक उत्तम भण्डारीले बताए । गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र सन्तोष महत छन् । रक्षकमा अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङले निरन्तरता पाए ।

मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, वसन्त, फत्तेमान घले, रोहन कार्की र सुमित श्रेष्ठले पनि स्थान पाएका छन् । अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पेजंग कार्की, हिसुब थपलिया, समीर तामाङ र सञ्जीव विष्टले पनि निरन्तर टोलीमा स्थान बनाएका छन् । नेपालले दशरथ रंगशालामा खेल्नुपर्ने भए पनि मापदण्ड नपुगेपछि खेल न्युट्रल भेन्युमा हुने भएको छ । 

दोस्रो चरणमा नेपालसहित युएई, यमन, बहराइन छन् । नेपाल लगातार चार खेलमा पराजित हुँदै विश्वकपमा स्थान बनाउन असफल भइसकेको छ । नेपालले खेलेको चारमध्ये एक खेल मात्रै दशरथ रंगशालामा खेलेको छ । एक होम म्याच बहराइनमा खेलिँदा दुई खेल युएई र बहराइनमा नै भएका हुन् । पहिलो खेलमा नेपाल युएईसँग ४–० ले पराजित भएको थियो । दोस्रो खेलमा यमन तथा तेस्रो र चौथो खेलमा बहराइनसँग पराजित भएको हो । हालसम्म नेपालले चार खेलमा १४ गोल व्यहोरेको छ । 

समूहमा चारमा चार खेल जितेको युएई १२ अंकसहित शीर्ष स्थानमा रहेर तेस्रो चरणमा स्थान बनाएको छ । बहराइनको सम्भावना कायमै छ । यमन र नेपालले भने एसियाली कप छनोटको तेस्रो चरण खेल्नेछन् । यसअघि नेपालले लाओसलाई हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो ।

सुझावित समाचार