चलिरहेका स्वास्थ्य कार्यक्रमलाई निरन्तरता

बुधबार, २ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य जनशक्ति अभिवृद्धि गर्ने र चलिरहेका कार्यक्रमलाई नै निरन्तरता दिने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनशक्तिमा लगानीका साथै निर्माणाधीन आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने, अन्य स्वास्थ्य संस्थाको स्तोरन्नति गर्ने र सञ्चालनमा रहेका कार्यक्रमलाई बढाउँदै लैजाने भएको छ ।

यस वर्ष स्वास्थ्यका ११ वटा बुँदा मात्रै समेटिएको नीति तथा योजनाले प्रत्येक वर्ष दर्जर्नौँ कार्यक्रम ल्याए पनि सीमित बजेटका कारण पूरा गर्न नसकिने भन्दै पुराना कार्यक्रम सम्पन्न गर्ने नीति लिएको छ । ‘स्वास्थ्यमा बजेटको सीमितताले गर्दा नीति तथा कार्यक्रममा धेरै योजना राख्न सकिएन । प्रत्येक वर्ष दर्जनौँ कार्यक्रम ल्याउने, तर सिलिङ थोरै आउँदा काम गर्न नसकिने अवस्था छ ।

त्यसैलै यस वर्ष महत्वपूर्ण, तर थोरै कार्यक्रमलाई निरन्तरता दिने गरी योजना ल्याएका हौँ । बजेटमा यी बुँदा मात्रै समेटिए पनि यो वर्षका लागि पर्याप्त छ,’ स्वास्थ्यसचिव डा. रोशन पोखरेलले भने । एचपिभी भ्याक्सिनलाई स्थानीय तहसम्म पुर्याउने, आधारभूत आयुर्वेद औषधिको उत्पादनमा आत्मनिर्भरता बढाउने, सुरक्षित मातृत्व र रोग नियन्त्रणका कार्यक्रम, पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ कार्यक्रम, सबै अस्पतालमा जेरियाट्रिक वार्ड, महामारी रोकथाम र नियन्त्रण तथा स्वास्थ्य आपत्कालीन अवस्थाको पूर्वतयारी कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ ।

यस्तै, संघीय अस्पताललाई कार्यबोझका आधारमा पुनर्संरचना गरिने, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायत पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गरिने, कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधासम्पन्न बनाइने, सहिद गंगालाल राष्िट्रय हृदय केन्द्रलाई हृदयरोगसम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाका रूपमा विकास गरिने, निर्माणाधीन आधारभूत अस्पतालको निर्माण सम्पन्न गरिने, प्रदेश तहमा रहेका संघीय अस्पताल वा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई क्रमशः पाँच सय शय्यामा स्तरोन्नति गरिने उल्लेख छ ।

बाल सुधारगृहमा रहेका बालबालिकाको स्वास्थ्य बिमा गरिने, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेडिकल कलेज बनाइने, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकको पढाइ सञ्चालन गरिने उल्लेख छ ।

सुझावित समाचार