सरकारले ल्याएको नीति तथा कार्यक्रम कस्तो लाग्यो ?
मैले यसअघि पनि यस्तो नीति तथा कार्यक्रम सानो, चुस्त र ‘इन्डिकेटिभ’ हुनुपर्छ भन्दै आएको थिएँ । त्यतिखेर पनि त्यस्तो आउन सकेन र अहिले पनि लामो न लामो व्याख्यासहित आएको छ । नीति तथा कार्यक्रम हाम्रो स्रोतसँग जोडिएको पाइएन । भनाइ र गराइमा आकाश–जमिनको अन्तर देखिन्छ । सुशासन र भ्रष्टाचार अन्त्य गर्ने भन्दा पनि उल्टै प्रश्रय दिने दिशामा उन्मुख देखिन्छ । आर्थिक पक्षलाई हामीले धेरै हदसम्म अनुशासनमा ल्याइसकेका थियौँ । सरकारले त्यसलाई भंग गरिसकेको छ । नीति तथा कार्यक्रमले पनि त्यही संकेत गरेको छ । स्रोत र साधनको कमी भइरहेको समयमा पनि नीति तथा कार्यक्रम भने वितरणमुखी आएको छ ।
यस्ता नीति तथा कार्यक्रम साँच्चै कार्यान्वयन पनि हुन्छन् कि देखाउनकै लागि मात्र ल्याइन्छन् ?
यस्ता नीति तथा कार्यक्रम निश्चित सिद्धान्त र स्रोत साधनको उपलब्धतामा टेकेर आएको अवस्थामा कार्यान्वयनमा लान सजिलो हुन्छ । तर, प्रायः हचुवाका भरमा धेरैलाई खुसी बनाउनका लागि अनेक फूलबुट्टा भरेर ल्याइने अधिकांश कार्यक्रम कार्यान्वयन हुँदैनन् । बजेटमा गरिनुपर्ने व्याख्यासमेत नीति तथा कार्यक्रममै गर्न थालेपछि यो निकै बोझिलो बन्दै गएको देखिन्छ ।
राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्नसमेत दिनुभएन नि ?
राष्ट्रपतिले संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने भनिसकेपछि हामीले त्यसलाई अवरोध गरिरहनु उचित ठानेनौँ । त्यसैले, सम्बोधन गर्न दियौँ । तर, त्यसपछिको कार्यतालिका अघि बढाउन भने सरकारले हाम्रो माग पूरा गर्नैपर्छ । सहकारीपीडित लाखौँ जनताको चीत्कार र हाम्रो माग बेवास्ता गरेर अघि बढ्न खोजिएमा संसद् चल्न दिँदैनौँ ।