ठेकेदार भागेपछि सडकमा फोटो टाँसेर ठेकेदार खोज्दै नौमुले गाउँपालिका

बुधबार, २ जेठ, २०८१
डिजिटल संस्करण

दैलेख सदरमुकाम खुर्सानीबारीदेखि नौमुले हुँदै जाजरकोटको जुनचाँदे जोड्ने रणनीतिक महत्वको सडक निर्माण अलपत्र पार्ने ठेकेदार फरार भएपछि स्थानीयले ठेकेदार हराएको सूचना टाँसेर खोजी सुरु गरेका छन् । तीन वर्षदेखि खुर्सानीबारीदेखि नौमुले गाउँपालिकाको तोलीसम्म सडक कालोपत्रे जिम्मा लिएको बिरुवा सिद्धार्थ सिगेश्वर निर्माण कम्पनीका सञ्चालक सीताराम शाहीको फोटो सडकमा टाँसेर खोजी अभियान सुरु गरिएको हो । सूचनामा भनिएको छ, ‘हराएका ठेकेदार फेला पार्नुहुने महानुभावहरूले नौमुले गाउँपालिकामा बुझाइदिनुहोला ।’

तीन वर्षअघि सडक कालोपत्रे गर्ने भन्दै १९ करोड १७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ०७८ मा काम सुरु गरेको निर्माण कम्पनीले ०८० सम्म सक्नुपर्ने पहिलो सम्झौता कार्यान्वयन भएन । तोकिएको समय अवधिमा काम सम्पन्न नभएपछि पूर्वाधार विकास कार्यालय दैलेखले म्याद थप गरिदियो । थपिएको समयमा समेत निर्माण कम्पनीले प्रभावकारी काम गर्न सकेन । दुई आर्थिक वर्षको आठ करोड रुपैयाँसमेत फ्रिज भएपछि नौमुले गाउँपालिकावासी आक्रोशित भएका छन् । हालसम्म कामको प्रगति ३० प्रतिशत मात्र भएको पूर्वाधार विकास कार्यालय दैलेखले जानकारी दिएको छ । निर्माण कम्पनीले सुरुको भुक्तानी चार करोड र पेस्की रकम करिब चार करोड गरेर आठ करोड लिएको देखिए पनि काम भनेअनुसारको नभएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

पूर्वाधार विकास कार्यालयले तोकिएको समयमा काम सम्पन्न गर्न राष्ट्रिय पत्रिकामा समेत दुईपटक सूचना जारी गरिसकेको कार्यालय प्रमुख प्रभाकरप्रसाद सिंहले जानकारी दिए । नौमुले गाउँपालिका– ६ का वडाध्यक्ष लालबहादुर चन्दले जनताको प्रत्यक्ष सरोकार राखेको मुख्य सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई पहिलोपटकको चेतावनीस्वरूप ठेकेदार हराएको सूचना टाँस गरिएको बताए । अझै पनि अटेर गरेमा जनता काठमाडौं लगेर ठेकेदारलाई खोजेर ल्याउने उनको भनाइ छ ।

नौमुले गाउँपालिकाका एमाले नेता शशिराम विकले बारम्बार ताकेता गर्दा पनि निर्माण कम्पनीले जनताको भावना नबुझेका कारण सूचना टाँस्न बाध्य भएको बताए । पूर्वाधार विकास कार्यालयले पनि हचुवाका भरमा धेरै रकम दिएको प्रति आक्रोश पोख्दै उनले छानबिन हुनुपर्ने बताए ।

नौमुले गाउँपालिकाका माओवादी अध्यक्ष सन्तोष चन्दले नौमुले सडक मात्र नभएर पालिकाभरिका विकासको जिम्मेवारी लिएका, तर समयमै काम नगर्ने जो–कोही निर्माण कम्पनीलाई यसरी नै खबरदारी गर्ने बताए । नौमुले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले आफूहरूले बारम्बार काम सम्पन्न गर्न फोन गर्दा पनि निर्माण कम्पनीले सुनुवाइ नगरेको गुनासो गरे । 

See More On

सुझावित समाचार