गुगल एलएलसीको सहकार्यमा मेरो जब लिमिटेडले गुगल करिअर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । आइटी र प्रविधि क्षेत्रमा रुचि भएका व्यक्तिहरूलाई केन्द्रित गर्दै यो कार्यक्रम ल्याइएको हो । कार्यक्रमले पाँच सय आवेदकलाई गुगल प्रमाणित करिअर सर्टिफिकेट पाठ्यक्रममा ६ महिनाको अनलाइन प्रशिक्षणका लागि छात्रवृत्ति भर्ना गर्ने योजना बनाएको छ ।
साथै, आर्थिक पत्रकारलाई समेत उक्त कार्यक्रममा सहभागिता गराउन सेजनसँग सहकार्य थालनी गरिएको छ । सेजन अध्यक्ष सुजन ओली र मेरो जब लिमिटेडका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
अनलाइन माध्यमबाट सञ्चालन हुने छात्रवृत्ति कार्यक्रममा कुल ६ वटा क्षेत्रमा पाठ्यक्रम सञ्चालन हुनेछ । यी कार्यक्रम सामान्यतया आइटी समर्थन, डाटा एनालिटिक्स, परियोजना व्यवस्थापन, प्रयोगकर्ता अनुभव युएक्स डिजाइन, डिजिटल मार्केटिङ र साइबर सुरक्षाजस्ता क्षेत्रहरूमा भूमिकाका लागि आवश्यक प्राविधिक सीप र ज्ञानमा केन्द्रित हुन्छन् । छात्रवृत्ति कार्यक्रममा छनोट हुनेले ६ महिनाको अवधिको पाठ्यक्रम र त्यसमा लिइने परीक्षा तथा मूल्यांकनमा उत्तीर्ण भएपछि प्रमाणपत्र प्राप्त गर्नेछन् ।