- व्यवसाय कम भएपछि कम्पनीले प्रोभिजनिङ गर्नुपर्ने रकम घटेको छ, त्यसले नाफा बढाउन सहयोग पुग्यो
- सेयर तथा सम्पत्ति बिक्रीले पनि बढायो निर्जीवन बिमा कम्पनीहरूको नाफा
- महिनामा जीवन बिमा कम्पनीको नाफा चार अर्ब ९१ करोड ८६ लाख
- निर्जीवन बिमा कम्पनीको नौ महिनामा पाँच अर्ब ६५ करोड १३ लाख खुद नाफा
चालू आर्थिक वर्ष ०८/८१ को नौ महिना ठूला जीवन र निर्जीवन बिमा कम्पनीको खुद नाफा ४९.३० प्रतिशतले बढेको छ । हाल नेपालमा १४–१४ वटा जीवन र निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा कम्पनीहरूले १० अर्ब ५७ करोड खुद नाफा कमाएका छन् । यो गत आवको सोही अवधिको भन्दा तीन अर्ब ४९ करोड बढी हो । गत आवको नौ महिनामा बिमा कम्पनीहरूले सात अर्ब सात करोड ९२ लाख नाफा कमाएका थिए ।
व्यवसायमा आएको शिथिलताका बाबजुत पनि बिमा कम्पनीहरूको नाफा बढेको छ । व्यवसाय कम भएपछि कम्पनीहरूले गर्नुपर्ने जोखिम प्रोभिजनिङ पनि कम भएको छ । त्यसले नाफा बढाउन सहयोग पुगेको कम्पनीहरू बताउँछन् । अहिले व्यवसायमा शिथिलताकै कारण नाफामा उच्च वृद्धि भएको नेको इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक खड्का बताउँछन् । निर्जीवन बिमा कम्पनीहरूले आफूले गरेको व्यवसाय (जोखिम)बापत निश्चित रकम प्रोभिजनिङ गर्नुपर्छ । जुन प्रोभिजनिङ रकम बिमा अवधि सकिएपछि फुकुवा हुन्छ र नाफा–नोक्सान खातामा सार्न सकिन्छ ।
गत आवहरूमा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय उच्च थियो । त्यसअनुसार त्यसवेला जोखिमबापत गर्नुपर्ने प्रोभिजनिङ रकम बढी थियो । त्यसवेलाको बिमा पोलिसीको अवधि सकिएसँगै प्रोभिजनिङमा राखेको रकम फुकुवा भएर चालू आवको नाफा–नोक्सान खातामा सरेको छ । तर, यो वर्ष व्यवसाय नभएपछि बिमा कम्पनीहरूले प्रोभिजनिङ गर्नुपर्ने रकम घटेको छ । त्यसले गर्दा यो वर्ष नाफा उच्चदरमा बढेको सिइओ खड्का बताउँछन् ।
निर्जीवनको नाफा ५५% वृद्धि
नेपालमा सञ्चालित १४ निर्जीवन कम्पनीहरूले नौ महिनामा पाँच अर्ब ६५ करोड १३ लाख खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा बिमा कम्पनीहरूले तीन अर्ब ६४ करोड ४६ लाख खुद नाफा कमाएका थिए । गत आवको नौ महिनामा ३० अर्ब एक करोड ४८ लाख बिमाशुल्क संकलन गरेका कम्पनीहरूले अहिले २९ अर्ब ९९ करोड ७६ लाख मात्रै संकलन गरेका छन् ।
समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले सबैभन्दा धैरे खुद नाफा ६१ करोड ४४ लाख २७ हजार रहेको छ । कम्पनीको यो नाफा गत आवको सोही अवधिको तुलनामा १०१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३० करोड ५४ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो । पुँजी बढाउन कम्पनीले यो वर्ष आफ्नो सम्पत्ति बिक्री गरेको छ । दोस्रो स्थानमा रहेको हिमालयन एभरेस्ट इन्स्योरेन्सले ६० करोड ६५ लाख ४८ हजार नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १६२.९ प्रतिशतले बढी हो । यो हिमालन जनरल र एभरेस्ट इन्स्योरेन्स भएर बनेको कम्पनी हो ।
जीवन बिमाको नाफामा ४३.२०% वृद्धि
समीक्षा अवधिमा जीवन बिमा कम्पनीको मात्रै ४३.२० प्रतिशतले नाफा बढेको छ । गत आवको समीक्षा अवधिमा जीवन बिमा कम्पनीको नाफा तीन अर्ब ४३ करोड ४६ लाख रुपैयाँ थियो । अहिले त्यो बढेर चार अर्ब ९१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । जीवन बिमा कम्पनीको यो नाफा बिमांकीय मूल्यांकनअघिको हो । जीवन बिमा कम्पनीको बिमांकीय मूल्यांकन गर्दा बिमा कोषको १० प्रतिशतसम्म नाफा–नोक्सान खातामा सार्न सकिन्छ । त्यो अवस्थामा कम्पनीको नाफा थप बढ्नेछ ।
प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा जीवन बिमा कम्पनीहरूको व्यवसाय (बिमाशुल्क संकलन) ५.१० प्रतिशतले बढेको छ । गत आवको नौ महिनामा एक खर्ब चार अर्ब ७३ करोड बिमाशुल्क संकलन गरेको जीवन बिमा कम्पनीहरूले यो वर्ष एक खर्ब १० अर्ब आठ करोड संकलन गरेका छन् । व्यवसाय सामान्य मात्रामा बढ्दा पनि नाफामा भने उच्च वृद्धि देखिएको हो ।
जीवन बिमा कम्पनीतर्फ एसियन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ६९ करोड ११ लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले १९ करोड ४७ लाख नाफा कमाएको थियो । दोस्रो स्थानमा भने नेपाल लाइफ इन्स्योरेन्सले ६० करोड तीन लाख नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ४९ करोड १२ लाख खुद नाफा कमाएको थियो ।
व्यवसाय घट्दा पनि किन बढ्यो नाफा ?
यसपालि अधिकांश बिमा कम्पनीहरूले जग्गा–जमिनजस्ता भौतिक सम्पत्ति, विभिन्न सार्वजनिक कम्पनीको सेयरलगायत सम्पत्ति बिक्री गरेका छन् । प्राधिकरणको निर्देशनअनुसार निर्जीवन बिमा कम्पनीहरूले दुई अर्ब ५० करोड न्यूनतम चुक्ता पुँजी कायम गर्नुपर्नेछ । पहिला यस्तो सीमा एक अर्ब थियो । अहिले पुँजी बढाउन दबाब भएपछि नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इस्योरेनसलगायत कम्पनीले सेयर, घरजग्गाजस्ता सम्पत्ति बिक्री गरेका छन् । त्यसले कम्पनीहरूको नाफा बढेको जानकारवाला बताउँछन् ।
यसैगरी, पुँजी बढाउने नाममा १२ कम्पनी मर्जर प्रक्रियामा सहभागी भएर ६ वटामा कायम भएका छन् । यसअघि २० वटा रहेको निर्जीवन बिमा कम्पनीको संख्या मर्जरका कारण १४ वटा कायम भएको छ । मर्ज भएसँगै कम्पनीहरूको खर्च कटौती भएर नाफा बढाउन सहयोग पुगेको कम्पनीहरू बताउँछन् ।