विशेष अदालतले सम्पत्ति शुद्धीकरणको एक मुद्दामा सोमबार सजाय निर्धारण गरेको छ। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले एक महिनामै उक्त मुद्दा टुंग्याएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ वैशाखमा मात्र मनीष भन्ने दुर्गासिं तामाङलाई प्रतिवादी बनाउँदै विशेषमा मुद्दा दायर गरेको थियो। जसमाथि विशेषले २४ वैशाखमा ठहरको फैसला गर्दै ३१ वैशाखका लागि सजाय निर्धारण पेसी तोकेको थियो।
प्रतिवादी तामाङलाई ६ वर्ष कैद तथा उनीसँग कायम रहेको सम्पत्तिको दोब्बर जरिवाना हुने फैसला भएको छ। उनीसँग रहेको २७ लाख १७ हजार रुपैयाँभन्दा बढीको स्रोत खुलेको थिएन।
विशेषले उनलाई ५४ लाख ३४ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकेको छ। तामाङमाथि लागुऔषध मुद्दामा अनुसन्धान चलिरहँदा उनको कोठाबाट खैरो हेरोइनका साथै साढे २३ लाख रुपैयाँ नगदसमेत भेटिएको थियो।
जसपछि लागुऔषध नियन्त्रण ब्युरोले अनुसन्धानका लागि विभागलाई पत्राचार गरेको थियो। अनुसन्धानका क्रममा गैरकानुनी क्रियाकलापबाट सम्पत्ति आर्जन गरेको पुष्टि भएपछि गत २ वैशाखमा मुद्दा दायर भएको थियो।