सुनले अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीमा पुनरागमन गरेको छ । ५० वर्ष पहिले अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले ‘गोल्ड विन्डो (सुनमा डलरको स्थिर विनिमय–दर)’लाई बन्द गरेपछि विश्व बहुमूल्य धातुहरूप्रतिको मोहबाट बाहिरियो । र, ‘फियाट करेन्सी (कानुनद्वारा सुरक्षण प्रदत्त)’को नयाँ युगको सुरुवात भयो । तर, अहिले ‘फियाट मनी’लाई आर्थिक कठिनाइ र नयाँ प्रविधि (ब्लकचेन/डिस्ट्रिब्युटेड लेजरहरू)ले चुनौती दिइरहेका छन् र सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दु प्रतिऔँस २४ सय डलरमाथि पुगेको छ ।
लगानीकर्ता गोल्डबग्स सुन दीर्घकालीन लगानीका लागि आदर्श लगानी भएको तर्क गर्छ । तर, सुनको मूल्य अद्वितीय रूपमा स्थिर रहेको विश्वास गर्नु भने गल्ती हुन्छ । यो धातुको मूल्यले अर्थतन्त्रको ज्वरो मापन गर्छ । जब मौद्रिक अस्थिरताको पारो चढ्छ, सुनको मूल्यको पारो पनि चढ्छ ।
सन् १९९० को दशकमा शीतयुद्धको अन्त्यले शान्ति र स्थिरताको नयाँ भावना जगाएपछि सुनको मूल्य ओरालिएको थियो । गत सहस्राब्दीको सुरुताका यसको मूल्य प्रतिऔंस ३०० डलर मुनि थियो । सन् १९७० को दशकपछि पनि यसको मूल्यवृद्धि मुद्रास्फीतिको सामान्य दरभन्दा कमै थियो । तर, सन् २००८ को आर्थिक संकट र कोभिड–१९ को महामारीपछि सुनको मूल्य आकासियो । यो वर्ष पनि आकासिइरहेको छ ।
सुनको माग बढ्नुमा केन्द्रीय बैंकहरूको मुख्य भूमिका छ । सन् २००० मा ३९५ टन सुन भण्डारण रहेको चीनसँग अहिले दुई हजार २६० टनको विशाल मौज्दात छ । विशेषगरी, सन् २००९ र २०१५ मा चीनले आफ्नो सुनको मौज्दातमा उल्लेखनीय वृद्धि गर्यो । रुस र टर्कीले पनि सन् २०१५ पछि सुनको मौज्दात बढाउँदै लगेका छन् । यही प्रवृत्ति युरोपेली संघमा पनि देखिएको छ । चेक रिपब्लिक र पोल्यान्ड दुवैले आफ्नो सुन मौज्दात बढाउँदै लगेका छन् ।
सुनको नयाँ राजनीतिक केन्द्रमा सुरक्षा–चिन्ता छन् । सन् १९९९ को मार्चमा चेक रिपब्लिक नाटोमा सामेल भयो र उसले तत्कालै आफ्नो सम्पूर्ण सुन बेच्यो । यसको सन्देश स्पष्ट थियो– सुरक्षाको ठोस सुनिश्चितताले वित्तीय सुरक्षाको आवश्यकतालाई खारेज गर्छ । तर, सन् २०२३ को अन्तताका उसको केन्द्रीय बैंकले १९ टन सुन किन्यो र यसको मौज्दात सय टन पुर्याउने आशय व्यक्त गर्यो । यसपटकको सन्देश पनि उत्तिकै स्पष्ट छ– नाटोको सदस्यता मात्रै पर्याप्त छैन । रुससँगको भौगोलिक निकटताका कारण पोल्यान्डले पनि आफ्नो मनसाय उजागर गरिसकेको छ । उसले आफूसँग ३६० टन सुन मौज्दात रहेको सार्वजनिक उद्घोष गरेको छ ।
पछिल्लो समयमा सुनको मूल्यमा आएको उछाल विश्व व्यवस्था परिवर्तन हुँदै गरेको र द्वन्द्व एवं अनिश्चयको नयाँ युग सुरुवात हुँदै गरेको संकेत हो । सरकार र केन्द्रीय बैंकहरूले धेरै अघिदेखि सुनलाई मौद्रिक स्थिरता र आर्थिक सुरक्षाको स्रोतका रूपमा हेर्दै आएका छन् ।
सुरक्षासँग सुनको सम्बन्धमा पोल्यान्डको गहिरो ऐतिहासिक अनुभव छ । प्रथम विश्वयुद्धबाट अस्ट्रियाली, जर्मन र रुसी साम्राज्य घराशयी भएपछि जब पोल्यान्ड पुनस्र्थापित भयो, उसले आफ्नो नयाँ मुद्रालाई सुन जनाउने पोलिस नाम दिएको थियो । उसले सन् १९३९ को सेप्टेम्बरमा रोमानिया, टर्की र लेबनान हुँदै आफ्नो सुन फ्रान्स पुर्याउन एउटा अभियान नै चलाएको थियो । यो कदमले जर्मन आक्रमणका बाबजुद पनि पोल्यान्ड अस्तित्वमै छ भन्ने सन्देश दियो ।
तर, स्थायित्वको स्रोतको रूपमा सुनको सबभन्दा उल्लेखनीय प्रयोग सन् १९२२ को सोभियत प्रयोग थियो । पोलिस बोल्सेभिक नेता फेलिक्स जेरजिन्स्की (जो गुप्त प्रहरी प्रमुख थिए)को जोडबलमा रुसले मुद्रास्फीति रोक्न ‘चेर्भाेनेट्स’ (रेड गोल्ड क्वाइन्स) जारी गरेको थियो ।
सन् १८७० को दशकको सुरुताका जब मौद्रिक व्यवस्थाको आधारको रूपमा ‘गोल्ड स्ट्यान्डर्ड’को उदय भयो, यसले एउटा नयाँ अन्तर्राष्ट्रिय राजनीतिक प्रणालीको सुरुवात गर्यो । विध्वंसकारी गृहयुद्धको पृष्ठभूमिमा संयुक्त राज्य अमेरिका, जर्मनी र इटलीलगायत एकपछि अर्को देश आफ्ना मुद्रालाई स्थिरता दिलाउन चाहन्थे । यसबीच, फ्रेन्च–प्रसिया युद्धमा फ्रान्सको पराजयपछि अघिल्लो मौद्रिक मानक चाँदी भने परिदृश्यबाट हट्दै थियो । यसअघि फ्रान्सेलीहरूले सुन र चाँदीको संयुक्त प्रणाली चलाएका भए पनि उनीहरूलाई चाँदीका सिक्कामा युद्धबाट भएको क्षतिको महँगो क्षतिपूर्ति तिर्न बाध्य पारियो । यसले बजारमा चाँदीको बाढी नै आयो र यो धातुको मूल्य धराशयी भयो । र, सुन मात्र बाँकी भयो ।
सन् १८७० को दशकको चाँदीमा आधारित समानान्तर मुद्रा प्रणालीको परित्याग सन् २०२४ को विश्वका लागि एउटा उदाहरण हुन सक्छ । आखिर, डलरको प्रभुत्व समाप्तिका बारेमा जो व्यापक आशंका गरिँदै छ । चाँदीको विमुद्रीकरणको आधुनिक समकक्ष हुनेछ, डलरको विमुद्रीकरण । सन् २०२० यता अमेरिकी सरकारले ठूलो वित्तीय घाटा व्यहोर्दै आएको छ । अब आउने अमेरिकाको नयाँ प्रशासनले विदेशी प्रतिस्पर्धीलाई हराउन र नयाँ अमेरिकी रोजगारी सिर्जनार्थ डलरलाई अवमूल्यनको प्रयास गर्न सक्ने जोखिमलाई ख्याल राख्न र वित्तीय प्रणालीको स्थिरता र डलर प्रतिस्थापनका लागि अमेरिकाका प्रतिद्वन्द्वीहरूले गर्ने प्रयासबारे पनि चिन्ता गर्नुपर्नेछ ।
यसर्थ, सुनमा स्थिरताको खोजी अस्थिर विश्वको एउटा प्रतिक्रिया हो । यसले नयाँ राजनीतिक व्यवस्थाको उदय हुँदै छ भन्ने बढ्दो विश्वासलाई नै प्रतिबिम्बित गर्छ । सांघाईस्थित ‘ब्रिक्स बैंक’ सिन्थेटिक करेन्सी (डिजिटल प्रकृतिको मुद्रा)को रूपमा डलरको विकल्पको खोजी सक्रिय रूपमा गरिरहेको छ । धेरैभन्दा धेरै देश ब्रिक्स समूहमा सामेल हुने प्रयास गरिरहेका छन् (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स) । उनीहरू सिन्थेटिक करेन्सीलाई उन्नाइसौँ शताब्दीको उत्तराद्र्धको चाँदीसमान ठान्दै छन् ।
एक शताब्दीअघि, जब द्वितीय विश्वयुद्धपछि विश्व गोल्ड स्ट्यान्डर्डमा फर्किरहेको थियो, जोन मेनार्ड केन्सले यो धातुलाई ‘बार्बारिअस रेलिक (हिंसाको प्रतीक)’ का रूपमा वर्णन गरेका थिए । किनभने यो द्वन्द्वकालीन मौद्रिक मानक थियो । विश्वमा जब राजनीतिक स्थिरता आउँछ, तब सुनको मूल्य घट्छ ।
– प्रोजेक्ट सिन्डिकेटबाट