उसुको विश्वकप तयारी चीनमा

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय उसु खेलाडीले चीनमा विश्वकपको तयारी गर्ने भएका छन् । नेपाली खेलाडीले उसुका सान्सौँ र थाउलो विधामा विश्वकपमा सहभागी जनाउँदै छन् । अस्ट्रेलियामा सान्सौँ र जापानमा थाउलोको विश्वकप उसु प्रतियोगिता हुँदै छ । यी दुवै प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्न उसु महासंघले खेलाडीलाई चीनमा अभ्यास गराउन लागेको हो । महासंघका अध्यक्ष वीरबहादुर तामाङले चीन उसु एसोसिएसनसँग तीनमहिने प्रशिक्षणका लागि प्रयास गरिरहेको बताए । ‘विश्वकपमा राम्रो नतिजा निकाल्न चीनमा अभ्यास गर्नेछौँ । त्यसका लागि छलफल भइरहेको छ,’ तामाङले भने । 

सान्सौँको विश्वकपमा नेपालबाट सञ्जीव महर्जन र विद्या गुरुङले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी, थाउलोमा दीपक हमालले भाग लिनेछन् । यी तीनजना खेलाडीले वैशाखको दोस्रो साता चीनको जियानझिङमा भएको अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । यही प्रदर्शनका आधारमा उनीहरूले विश्वकपमा स्थान पक्का गरेका हुन् ।  अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा ६ जना नेपाली खेलाडीले पदक जितेका थिए । उसु महासंघले पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ । नेपालले दुई रजत र चार कांस्य पदकसहित कुल ६ वटा पदक जितेको थियो । रजत विजेताले १० हजार र कांस्य विजेता खेलाडीले सात हजार रुपैयाँ पाउनेछन् । नेपालले सान्सौँ विधाको एकलमा समान दुई रजत र कांस्य हात पारेको थियो ।

 फाइनलमा चुके नेपाली खेलाडी
थाउलोको एकल र टिम इभेन्टमा पनि नेपालले समान एक कांस्य पदक जितेको हो । सान्सौँ विधाको पुरुष ८० केजी तौल समूहमा सञ्जीव र महिला ५६ केजी तौल समूहमा विद्याले रजत पदक जितेका थिए । सञ्जीव इरानी खेलाडीसँग र विद्या टर्कीकी खेलाडीसँग स्वर्ण भिडन्तमा पराजित भएका थिए । अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा दीपकले सर्वाधिक ९.६६ स्कोर गरेका थिए । उनी आगामी अक्टोबरमा जापानमा हुने थाउलोको विश्वकपका लागि पनि छनोट भएका छन् ।

थाउलोका खेलाडी विजय सिँजालीले राम्रो प्रशिक्षण गर्न सके एसियाली खेलकुदमै स्वर्ण जित्न सकिने बताए । अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिताको थाउलोको छानछवान इभेन्टमा सहभागी २९ वटा देशको भिडन्तमा विजय छैटौँ भएका थिए । महिलाको छानछवान इभेन्टमा निमा घर्तीमगर ९.४७६ स्कोरका साथ चोथौ भइन् । प्रतियोगितामा सान्सौँतर्फ लुमन्ती श्रेष्ठले महिला ६५ केजी र किरणसिंह साउदले ९० केजी तौल समूहमा कांस्य पदक जितेका थिए । थाउलोतर्फकै तुइलिन विधाको टिम इभेन्टमा नेपालका पुरुष खेलाडीहरू विजय सिँजाली, दीपक हमाल र राजीव गुरुङले कांस्य पदक जितेका थिए ।

See More On

सुझावित समाचार