कीर्तिमानी आरोही कामिरिता शेर्पाले आइतबार फेरि सगरमाथा चुचुरोमा नयाँ रेकर्ड कायम गरेका छन् । उनले २९औँपटक सगरमाथाको चुचुरो चुमेर आफ्नै पुरानो रेकर्ड तोडेर नयाँ विश्व रेकर्ड बनाएका हुन् । ५४ वर्षीय आरोही कामिरिताले बिहान ७:२५ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
उनी सेभेन समिट ट्रेक्समा वरिष्ठ गाइडका रूपमा कार्यरत छन् । उनले आरोही टोलीलाई लिएर सगरमाथा चुचुरोमा पुगेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्गमा शेर्पाले बताए । सेभेन समिट ट्रेक्सबाट मात्रै आइतबार करिब २० जनाले आरोहण गरेको कम्पनीले जनाएको छ ।
यसअघि सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने रेकर्ड (२८औँपटक) कामिरिताकै नाममा थियो । गत वर्ष उनले एउटै सिजनमा दुईपटक सगरमाथा चुचुरो पुगेका थिए । अर्का नेपाली गाइड पासाङ दावा शेर्पाको नाममा २७औँपटक सगरमाथा चढेको रेकर्ड छ । गत वर्ष पासाङले पनि एकै सिजनमा दुईपटक सगरमाथा चढेर रेकर्ड बराबरी बनाएपछि कामिरिता फेरि चुचुरो पुगेका थिए । यो सिजनमा कामिरिताले दोस्रोपटक सगरमाथा आरोहण गर्छन् वा गर्दैनन् अझै यकिन भइनसकेको सेभेन समिटका अध्यक्ष शेर्पाले बताए । आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सबैभन्दा धेरैपटक आरोहण गरेको रेकर्ड पनि उनकै नाममा छ । उनले सगरमाथा, केटु, चोयु, ल्होत्से, मनास्लुलगायत शिखरहरू यस वर्षसहित ४१ पटक आरोहण गरेको बताइन्छ ।
१७ जनवरी १९७० मा सोलुखुम्बुको थामेमा जन्मिएका कामिरिता उमेरले ५४ पुगिसकेका छन् । तर, हिमाल चढ्ने हुटहुटी उस्तै छ । उनले पहिलोपटक १३ मे १९९४ मा सगरमाथाको चुचुरो चुमेका थिए, त्यो वर्ष उनी २४ वर्षका थिए । त्यसयता सन् १९९६, २००१, २०११, २०१४, २०१५ र २०२० मा बाहेक सबै वर्ष सगरमाथाको शिखरमा पुगेका छन् । सन् २०१५ मा भूकम्पका कारण र सन् २०२० मा कोभिड महामारीका कारण एउटै आरोहण भएको थिएन । उनले सन् २०१९ र सन् २०२३ मा एउटै सिजनमा दुईपटक सगरमाथा चुचुरोमा पुगेको रेकर्ड छ ।
सेभेन समिट ट्रेक्सका अनुसार सन् १९९२ मा सगरमाथा आरोहण अभियानमा सपोर्ट स्टाफ सदस्यका रूपमा कामिरिताको पर्वतारोहण यात्रा सुरु भएको थियो । उनले आइसफल डाक्टरका रूपमा चुचुरोसम्म रोप फिक्सिङको (बाटो बनाउने) काम पनि गरिसकेका छन् । रोप फिक्सिङको नेतृत्व गर्दा उनले एउटै याममा दुईपटकसम्म चुचुरो चुमेका रेकर्ड छन् । उनलाई पेसाले नै धेरैपटक सर्वोच्च शिखर चढाएर कीर्तिमानी आरोहीका रूपमा स्थापित गरेको हो ।
गत वर्षको एक भेटमा उनले भनेका थिए, ‘मलाई घरपरिवारले हिमाल आरोहणबाट विश्राम लिन आग्रह गरिरहेका छन्, तर म हिमालबाट टाढा रहनै सक्दिनँ ।’ हिमाल चढेर रेकर्ड राख्नेभन्दा पनि हिमाल आरोहणलाई जीवितै राख्न आफूले विश्राम नलिएको उनको भनाइ थियो । अनुभवी र कीर्तिमानी गाइड भएकै कारण कतिपय आरोहीले उनीसँगै चुचुरोमा पुग्ने चाहना राख्छन् । उनले भनेका थिए, ‘जति अनुभवी गाइड हुन्छ, आरोहीमा त्यति धेरै कन्फिडेन्स हुने रहेछ, उनीहरूलाई सजिलै सगरमाथा चढ्ने आत्मविश्वास जाग्ने रहेछ ।’