चैतमा चालू आर्थिक वर्षकै न्यून महँगीदर

राष्ट्र बैंकले मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेकोमा चैतमा ४.६१ प्रतिशतमा खुम्चिएको छ

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

चैतमा महँगीदर (मुद्रास्फीति) ४.६१ प्रतिशत कायम भएको छ । यो चालू आर्थिक वर्षकै न्यूनदर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक गतिविधि चलायमान हुन नसक्दा मुद्रास्फीति संकुचित बन्दै गइरहेको अर्थशास्त्रीहरूको विश्लेषण छ । 

चालू आर्थिक वर्षको मौद्रिक नीतिले मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । तर, मुद्रास्फीति लक्षित सीमाभन्दा ज्यादै न्यूनदरमा रहने देखिएको छ । निर्माण र उत्पादनशील क्षेत्र मन्दीमा गइरहेका वेलामा मुद्रास्फीति संकुचित बन्दै जानु चिन्ताको विषय बनेको अर्थशास्त्री प्राध्यापक डा. पुष्कर बज्राचार्यको भनाइ छ । उनले भने, ‘वस्तु तथा सेवाको माग बढ्न नसकेर महँगीदर संकुचित बनेको हो । यो उत्पादन बढेर देखिएको सुधार होइन । अहिलेको संकुचित मुद्रास्फीतिले अर्थतन्त्रको शिथिलतालाई चित्रण गरेको छ ।’

नेपालको प्रमुख व्यापारिक साझेदार भारतमा पनि मुद्रास्फीति निरन्तर संकुचनमा गइरहेको छ । यसको असर नेपाली बजारमा देखिएको हो । फागुनमा भारतको मुद्रास्फीति ४.८५ प्रतिशत पुगेको थियो । गत साउनमा भारतको मुद्रास्फीति ६.८३ प्रतिशत थियो । सोही समयमा नेपालको मुद्रास्फीति ७.५२ प्रतिशत थियो ।  

विगतमा केन्द्रीय बैंकले विदेशी केन्द्रीय बैंकहरूको नीति अनुसरण गर्दै मुद्रास्फीति नियन्त्रणमा राख्न कर्जाको ब्याजदर बढाउने नीति लियो । नीतिगत दरलाई ८.५ प्रतिशतसम्म पुर्यायो । त्यसको असर अहिले अर्थतन्त्रमा देखिएको प्रा.डा. बज्राचार्यको विश्लेषण छ । 

गत साउनसम्म वाणिज्य बैंकहरूको आधार दर १०.४८ प्रतिशत पुगेकोमा अहिले घटेर ८.५१ प्रतिशतमा सीमित भएको छ । यद्यपि, अर्थतन्त्रलाई चलायमान बनाउन यस्तो दर ७ प्रतिशतसम्म झर्नुपर्ने बज्राचार्यको भनाइ छ । केन्द्रीय बैंकले मुद्रास्फीति, आर्थिक स्थायित्व र आर्थिक वृद्धिदरलाई सन्तुलनमा राख्नुपर्ने भए पनि मुद्रास्फीति नियन्त्रणमा मात्रै ध्यान दिँदा अर्थतन्त्र शिथिल बनेको उनको भनाइ छ । 

अर्थशास्त्री प्राध्यापकडा. पुष्कर बज्राचार्य भन्छन्–वस्तु तथा सेवाको माग बढ्न नसकेर महँगीदर संकुचित बनेको हो । यो उत्पादन बढेर देखिएको सुधार होइन । अहिलेको संकुचित मुद्रास्फीतिले अर्थतन्त्रको शिथिलतालाई चित्रण गरेको छ ।

चैतमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला २२.६४ प्रतिशत, तरकारीको १६.९९ प्रतिशत, दाल तथा गेडागुडीको १०.९४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.५९ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ६.०६ प्रतिशतले मूल्य बढेको छ । त्यसबाहेक घिउ तथा तेलको मूल्य सूचकांक १०.१० प्रतिशतले घटेको छ ।गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृतिको १२.६१ प्रतिशत र शिक्षाको ७.३१ प्रतिश तले बढेको छ । यातायात उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ०.३३ प्रतिशतले घटेको छ ।

मुद्रास्फीति घट्नुमा आन्तरिकभन्दा बाह्य कारण बढी हाबी भएको बैंकिङ क्षेत्रका जानकार पर्शुराम कुँवरको विश्लेषण छ । उनले भने, ‘मुद्रास्फीति दर घट्नुमा अन्तर्राष्ट्रिय कारण हो । भारतलगायतका अन्य देशमा पनि घटिरहेकै छ । आउँदो सेप्टेम्बरदेखि अमेरिकाले ब्याजदर घटाउँछ कि भन्ने अनुमान छ । अहिलेको महँगीदर घट्नुको मूल कारण अन्तर्राष्ट्रिय हो ।’

अन्तर्राष्ट्रिय बजारमा ०७९ चैत मसान्तमा प्रतिब्यारल अमेरिकी डलर ८६.५१ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य ०८० चैत मसान्तमा आइपुग्दा ७.६ प्रतिशतले बढेर ९३.१२ पुगेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा ०७९ चैत मसान्तमा प्रतिऔँस सुनको मूल्य अमेरिकी डलर दुई हजार ४८ दशमलव ४५ रहेकोमा ०८० चैत मसान्तमा १७.२ प्रतिशतले वृद्धि भई अमेरिकी डलर दुुई हजार चार सय एक दशमलव ५० पुगेको छ ।

 शोधनान्तर बचत दोब्बर
शोधनान्तर स्थिति बचतमा जाने क्रम बढ्दै जाँदा गत आर्थिक वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ । गत आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति एक खर्ब ७४ अर्ब २८ करोडले बचतमा थियो । चालू आवको सोही अवधिमा यो बढेर तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा पुगेको छ । देशबाट बाहिरिने रकमको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति बचतमा गएको हो ।त्यस्तै, चालू खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा पुगेको छ । पोहोर यही अवधिमा चालू खाता ६० अर्ब ४३ करोडले घाटामा थियो ।   

रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १७.७ प्रतिशतले बढेर आठ अर्ब १५ करोड पुगेको छ । देशमा भित्रिने प्रत्यक्ष विदेशी लगानी र देशबाट बाहिरिने लाभांशको समष्टिको सूचक प्रत्यक्ष वैदेशिक लगानी यस अवधिमा ६ अर्ब ४८ करोडले धनात्मक छ । पोहोर यही अवधिमा यो सूचक दुई अर्ब ६२ करोडले धनात्मक थियो । 

वैदेशिक व्यापार संकुचन दर घट्न थाल्यो
केन्द्रीय बैंकका अनुसार तुलनात्मक रूपमा वैदेशिक व्यापार घट्दै जाने रफ्तारमा कमी आउन थालेको छ । पोहोरको तुलनामा वैदेशिक व्यापार घटे पनि गिरावट दरमा भने कमी आइरहेको छ । आर्थिक वर्ष ०८/८१ को नौ महिनामा कुल वस्तु निर्यात ३.७ प्रतिशतले कमी आएर एक खर्ब १३ अर्ब ९५ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २६.३ प्रतिशतले कमी आएको थियो । यसरी हेर्दा निर्यातको गिरावट दरमा कमी आइरहेको छ । त्यस्तै, कुल वस्तु आयात २.८ प्रतिशतले कमी आई ११ खर्ब ६७ अर्ब ३७ करोडकायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । 

पूर्वबैंकर कुँवरका अनुसार खानेतेलको आयात–निर्यातलाई हटाएर हेर्दा वैदेशिक व्यापार बढेको छ । उनले भने, ‘भारतले खानेतेलको आयातलाई निरुत्साहित पार्ने नीति लिएकाले यस्तो भएको हो । खानेतेलबाहेकका वस्तुको आयात–निर्यात बढेकै छ ।’ 

त्यस्तै, आयातीत वस्तुमा पुँजीगत वस्तुको आयात बढ्नु अर्काे सुखद पक्ष रहेको उनको भनाइ छ । समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४९.२ प्रतिशत, पुँजीगत वस्तुको ९.१ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१.७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ५३.३ प्रतिशत, ८.३ प्रतिशत र ३८.३ प्रतिशत थिए ।

 विदेशी मुद्राको सञ्चिति १२.५ महिनाको आयात धान्न पुग्ने
नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको केन्द्रीय बैंकले जनाएको छ । ०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई ०८० चैत मसान्तमा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २२.७ प्रतिशतले वृद्धि भएको हो । चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत छ । 

सुझावित समाचार