ईश्वरपुर नगरपालिकास्थित रामनगरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर भएका छन् । ईश्वरपुर नगरपालिका– ९, रामनगरकी अन्दाजी २८ वर्षकी कुसुम देवीको करेन्ट लागेर मृत्यु भएको हो । ३४ वर्षीय श्रीमान् रम्भा महतोको सोही घटनामा करेन्ट लागेर अवस्था गम्भीर बनेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार शुक्रबार राति रम्भाको घरअगाडि ११ हजार भोल्टेजको विद्युतीय तारमा बेरिएको इन्टरनेटको तार चँुडिएर झरेको थियो । इन्टरनेटको तार उठाउन खोज्दा रम्भालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । श्रीमान्लाई करेन्ट लागेको देखेपछि हतारहतार बचाउन पुगेकी कुसुमलाई पनि करेन्ट लागेको थियो ।
घटनालगत्तै स्थानीयले महतोदम्पतीलाई उपचारका लागि अस्पताल पुर्याएका थिए । उपचारका लागि कुसुमलाई सिद्धिविनायक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् । श्रीमान् रम्भाको भने बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केश्वरगन्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।