मोक्षदा स्कुल र सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यू–१६ टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्ने भएका छन् । मूलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न दुवै खेलमा जित निकाल्दै मोक्षदा र सैनिक उपाधिनजिक पुगेका हुन् । दोस्रो सेमिफाइनलमा मोक्षदाले डिएभीलाई १२ रनले हरायो ।
पहिला ब्याटिङ गर्दै मोक्षदाले १८.४ ओभरमा सबै विकेट गुमाउँदा एक सय ६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा डिएभीले १९.१ ओभरमा अलआउट हुँदा मात्र ९३ रन बनाउन सक्यो । प्लेयर अफ दी म्याच मोक्षदाका सौर्यसिंह ठकुरीले पाँच रन खर्चिएर पाँच विकेट लिएपछि डिएभी दबाबमा आएको थियो । यसअघि मोक्षदाका लागि अभिसिंह राजपूतले आठ बलमा २० रन बनाएका हुन् । संयम नेपालले १९ र इशान साह सुवेदीले १७ रनको योगदान गरे ।
सैनिकको सहज जित
पहिलो सेमिफाइनलमा सैनिकले एन्जल हार्ट स्कुलविरुद्ध ८८ रनको सहज जित निकाल्यो । सैनिकले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याएको एन्जल हार्ट १७ ओभरमा ८३ रनमै समेटियो । एन्जल हार्टका लागि युवराज खत्रीले ४२ र जोय थापाले २० रन बनाए ।
सैनिकका लागि लवकुमार ठाकुरले सर्वाधिक पाँच विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको सैनिकले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७१ रनको योगफल तयार पारेको थियो । सैनिकका लागि रिगल महतले ४१ बलमा ५१ रनको योगदान गरे । यसै गरी राजदीप आचार्यले ४० र रोजल खड्काले ११ रन बनाए ।