७२औँ वर्षमा जनकल्याण मावि

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण

बौद्व महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयले ७१औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयले शनिबार विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । 

कार्यक्रमको उद्घाटन संसद्को अर्थ समितिका सभापति सन्तोष चालिसेले गरेका थिए । सो अवसरमा उनले नेपालबाट विदेश जाने विद्यार्थी बढिरहेकाले यसलाई कम गर्नतर्फ सरोकारवाला निकायले चासो दिन जोड दिए । रोजगारका लागि जानेहरूले रेमिट्यान्स भित्र्याए पनि पढ्न जाने विद्यार्थीबाट राज्यलाई खासै फाइदा नहुने गरेको उनको भनाइ छ । त्यसकारण अबको शिक्षा नेपालमै बसेर गरिखाने किसिमको हुनुपर्ने उनको भनाइ छ । ‘विदेश जाने विद्यार्थीको लर्को छ, तर रोक्ने प्रयास भएको देखिँदैन, आजको शिक्षाले मुलुक अघि बढ्दैन, यो गरिखाने किसिमको छैन, त्यसैले मुलुक सुहाउँदो र गरिखाने शिक्षा चाहिन्छ ।

उपत्यकाभित्रका राम्रा सामुदायिक विद्यालयमध्ये यो विद्यालय पनि पर्छ । यस विद्यालयले व्यावहारिक, गुणस्तरीय, प्रविधियुक्त शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयका सूचना अधिकारी सुरेशकुमार कटुवालले विद्यालयलाई अझै राम्रो र अब्बल बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षकशिक्षिका लागिपरेको बताए । विद्यालयका निमित्त प्रधानाध्यापक दीपकबाबु श्रेष्ठले विद्यालयको भौतिक सुधारसँगै पढाइमा सुधार ल्याउन सकिए र आगामी दिनमा शिक्षाको गुणस्तर थप राम्रो पार्ने बताए । 

वार्षिकोत्सव कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, भूतपूर्व शिक्षक तथा विद्यार्थी, स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवीलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा वार्षिकोत्सवका अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी, पूर्वशिक्षक, समाजसेवी, सञ्चारकर्मीलगायतलाई सम्मान तथा पुरस्कृत गरेको थियो । कार्यक्रममा विद्यालयद्वारा प्रकाशित ‘प्रयास’ पुस्तक पनि विमोचन गरिएको छ ।

सुझावित समाचार