सीप मेलाका प्रशिक्षार्थीको परीक्षण सहरी योजना आयोगले गर्ने

शुक्रबार, २८ बैशाख, २०८१
डिजिटल संस्करण
सीप मेलाका प्रशिक्षार्थीको परीक्षण सहरी योजना आयोगले गर्ने

टुँडिखेलमा जारी सीप मेलाको अवलोकन गर्न पुगेका सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी ।

काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीप मेलामा तालिम लिइरहेका प्रशिक्षार्थीले प्राप्त गरेको सीपलाई सहरी योजना आयोगले परीक्षण गर्ने भएको छ । तालिमबाट श्रम बजारमा पठाउन योग्य जनशक्ति उत्पादन सुनिश्चित गर्न आयोगले विज्ञसहित अनुगमन गरेर उनीहरूको सीप परीक्षण गर्ने भएको हो ।

‘तालिम चलाउनका लागि होइन, यो नतिजाका लागि हुनुपर्छ । तालिम लिने व्यक्ति, आफ्नो क्षमता कागजमा होइन, व्यवहारमा देखाउन सक्ने हुनुपर्छ । यसका लागि सीप परीक्षण गर्ने योजनामा छौँ ।’ बिहीबार मेला अवलोकनका लागि पुगेका सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले बताए । उनले भने, ‘सीप विकास तालिमका प्रचलित सूचक र योग्यता निर्धारण विधिको प्रयोग गरेर परीक्षण गर्नेछौँ ।’ उनले तालिम पाइसकेपछि काममा निपुण हुनुपर्ने बताए । परीक्षणका क्रममा प्राप्त ज्ञान र प्रयोगात्मक सीपको मापन हेर्ने बताए । 

उपाध्यक्ष राजभण्डारीसहितको टोलीलाई इन्जिनियर शैलेन्द्र झा र रोजगार संयोजक देवेन्द्र केसीले, तालिमका विषय, प्रशिक्षक, प्रशिक्षार्थीका विषयमा जानकारी गराएका थिए । यसक्रममा इन्जिनियर झाले आयोगले निगरानी बढाएपछि तालिमको स्तर अझै वृद्धि हुने बताए । उनले भने, ‘योग्यता प्रमाणित गर्ने बलियो आधार प्राप्त भएको छ ।’ उपाध्यक्ष राजभण्डारीले, प्रशिक्षकबाट प्रशिक्षण सहजता र प्रशिक्षार्थीबाट सिकेको सीप र प्राप्त ज्ञानका बारेमा जानकारी लिएका थिए । राजभण्डारीसँग सहरी योजना आयोगका विज्ञ र सहायक विज्ञहरू अवलोकनमा सहभागी थिए । 

मार्बल तथा टायल फिटिङ तालिमका लागि आवेदन माग
काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत ‘सीप मेला ०८१’ मा मार्बल तथा टायल फिटिङसम्बन्धी आवेदन खोलेको छ । यो तालिममा सबै नेपाली नागरिकले आवेदन भर्न सक्नेछन् । साथै, बेरोजगार, युवायुवती, महिला, पुरुष, रोजगारी गुमाएर बसेकाहरू, विदेशबाट सीप सिकेर तथा काम गरेर फर्केकाहरू, काम खोज्दै गरेकाहरू सबैलाई तालिममा प्राथमिकता दिइने उल्लेख छ । तालिममा सहभागी हुन कुनै शुल्क तिर्नुपर्दैन । 

सुझावित समाचार