संसदीय समितिमा खेलकुदमन्त्री श्रेष्ठको गुनासो : अहिलेको बजेट लुँडो मात्रै खेलाउन पुग्छ

शुक्रबार, २८ बैशाख, २०८१
डिजिटल संस्करण

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बिहीबार खेलकुदमा रहेका विसंगतिबारे गुनासो पोखेका छन् । बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै उनले खेलकुदका विवाद र झमेला सीधै संसदीय समितिमै पठाउने अवस्था रहेको प्रतिक्रिया दिए । 

‘खेलकुदमा अहिले पनि पाँच विकास क्षेत्रको प्रणाली रहेछ । मन्त्रालयले नीतिगत पक्ष उठाउँदा संघको विवाद आउँछ । संघको विवाद संसदीय समितिमै पठाउँजस्तो लाग्छ,’ उनले भने, ‘यति कम बजेटमा मन्त्रालय चलाउनुपरेको छ । वडासदस्यदेखि प्रदेशसम्मका जनप्रतिनिधि योजना लिएर आउँछन् । वस्तुस्थिति यस्तो छ कि देशको बजेटभन्दा ठूलो माग खेलकुद पूर्वाधारको छ ।’ खेलकुद मन्त्रालयको वार्षिक बजेटले लुँडो र बुद्धिचाल खेल मात्र आयोजना गर्न सकिने उनले बताए । 

‘खेलकुद मन्त्रालयको बजेटले साँच्चिकै काम गर्न सक्ने भनेको लुँडो र बुद्धिचालमा मात्र हो । अरू त देखाउने मात्रै हो । यसकारण समयअनुसार खेलकुद विकास हुन नसकेको हो ।’ मन्त्री श्रेष्ठसँगै संसदीय समिति बैठकमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ उपस्थित थिए । 

संसदीय समितिमा खेलकुुदमन्त्री श्रेष्ठले भने–खेलकुद मन्त्रालयमा हुने बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ । देशभरका जनप्रतिनिधि खेलकुदको क्षेत्रमा बजेट माग गर्दै आउँछन् । खेलकुद पूर्वाधारको क्षेत्र समयसापेक्ष रूपले विकास हुन सकिरहेको छैन । मन्त्रालय नीतिगत रूपमा खेल क्षेत्रको सुधारका लागि लागेको छ । खेल क्षेत्रको सुधार गर्न राजनीतिक आबद्धता त्याग्नुपर्छ । दशरथ रंगशालामा खेलकुदबाहेकका गतिविधि रोक्नुपर्छ । 

मन्त्री श्रेष्ठले दशरथ रंगशालाको विकल्प खोजिनुपर्ने र कन्सर्टसँगै गैरखेलकुद कार्यक्रम रोक्नुपर्ने धारणा राखेका छन् । ‘दशरथ रंगशालाको विकल्प खोज्नुपर्छ । बरु मैदान उपत्यकाबाहिर लैजाउँ,’ उनले भने, ‘रंगशालामा राजनीतिक कार्यक्रम, कन्सर्टहरू बन्द गरौँ । गैरखेलकुद कार्यक्रम रोकौँ ।’ गैरखेलकुद प्रतियोगिता आयोजना हुँदा मैदानको दुबो र माटोको सतह बिग्रँदै गएको उनको भनाइ छ । उनले ऐन संशोधन गरिने र मस्यौदा बनाएर काम अगाडि बढेको बैठकमा जानकारी दिए । ऐनकै कारण मन्त्रालयले हस्तक्षेप गर्न नपाएको दुःखेसो पोखेका छन् । मन्त्री श्रेष्ठले नेपालमा छाएको निराशामा खेलकुद क्षेत्रका नीति, कार्यक्रमले आशा छाउने अपेक्षा राखेको जनाए । 

युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले नेपाल र युएईबीचको विश्वकप छनोट खेल रंगशालामा हुने चाहना पूरा हुने बताए । ‘मन्त्रीज्यूले अनुगमन गरेर पाँच दिनभित्र सम्बन्धित निकायलाई वास्तविक अवस्था प्रतिवेदन बुझाउन दिर्नेशन दिनुभएको छ, घरेलु मैदानमा खेल्ने सबैको चाहना पूरा हुन्छ । यसमा कुनै कसर राख्दैनौँ । त्यो वातावरण बनाउन सरकार लागिपरेको छ,’ अर्यालले भने । 

खेल क्षेत्रको पूर्वाधार दयनीय छ : घिसिङ
राखेप सदस्यसचिव टंकलाल घिसिङले खेल क्षेत्रको बजेट निकै कम भएको र पूर्वाधार दयनीय अवस्थामा रहेको जानकारी दिएका छन् । ‘खेल क्षेत्रको पूर्वाधार दयनीय छ, एक प्रतिशत पनि बजेट छैन । दशरथ रंगशाला र नारायणी रंगशाला नेपालको पुरानो रंगशाला हो,’ सदस्यसचिव घिसिङले भने । खेलकुदलाई विद्यालय तहबाट पाठ्यक्रमकै रूपमा अगाडि बढाउने प्रस्ताव मन्त्रालयमा सिफारिस गरेको बताए ।

 घिसिङले नेपाल र युएईबीचको खेल दशरथ रंशगालामै हुनेमा आशावादी भएको बताए । पाँच महिनाअघि यमनसँगको खेल दशरथ रंशगालामा भएको बताउँदै त्यसयता विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदा मैदानको माटोको सतह र दुबो बिग्रेको बताए । 

नेपालमै खेलाउन प्रयत्न गरिरहेका छौँ : नेम्वाङ 
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङले विश्वकप छनोट खेल नेपालमै गराउने प्रयास भइरहेको जानकारी दिएका छन् । ‘इन्डोनेसियामा भएको दुर्घटनापछि एएफसीले सुरक्षामा विशेष चासो दिँदै आएको छ । युएईविरुद्धको खेल नेपालमै खेलाउन प्रयत्न गरिरहेका छौँ,’ उनले भने, ‘एएफसीका प्रतिनिधिले खेल्न उपयुक्त नभएको रिपोर्ट दिएका छन् । एएफसीका साथीसँग निरन्तर संवाद भइरहेको छ, फिफासँग प्रयास भइरहेको छ ।’ 

 सांसदहरूको सुझाव खेलकुदको बजेट बढाउनुपर्छ
बद्री पाण्डे, कांग्रेस 

०.१२ प्रतिशत बजेटले केही गर्न सकिएको छैन । खेलकुदकै कारण युवाहरू देशभित्र रहने अवस्था बनेको छ । अन्तर्राष्ट्रिय जगत् खेलकुदमा निकै उचाइमा पुगिसकेको अवस्थामा अत्यन्तै पछौटेपनमा पर्‍यो । खेलकुद क्षेत्रको बजेट बढाउन लाग्नुपर्छ । समितिले पनि गम्भीरतापूर्वक लिनुपर्छ । खेलकुद फेयर गेम भए पनि झगडा भइरहन्थे, तर अहिले घटेको छ । खेलकुदको फेयरनेसले अरू क्षेत्रमा प्रेरणा दियोस् । २४ जेठमा नेपाल र बहराइनबीच नेपालमा खेल हुन २७ दिन बाँकी छ ।

फुटबलमा कूटनीति प्रयोग हुनुपर्‍यो । बजेट कमी छ भने मौकामा हिरा फोर्ने भनेजस्तै बजेट दिएर गर्नुपर्छ । खेल भएन भने सरकारले जिम्मा लिनुपर्छ । प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्री गम्भीर बन्नुपर्छ । राष्ट्रिय खेलकुद के भइरहेको छ ? मूलपानी, चितवन, विराटनगरलाई राष्ट्रिय गौरवको आयोजना भनियो ? त्यसको प्रगति के कस्तो छ ? पहिला दशरथ रंगशालालाई प्राथमिकीकरण गरेर जानुपर्छ । 

प्राविधिक पक्षमा सुधार गरौँ
छविलाल विश्वकर्मा, एमाले 

दशरथ रंगशालासँग सम्बन्धित अरू छलफलमा जाने समय छैन । खेल खेल्न सकिने गरी प्राविधिक पक्षमा सुधार गरौँ । धेरै टाउको दुखाउने काम नगरौँ । अर्काे तयारी गरौँ । अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी गरौँ । सबैतिर विचरण गर्नेभन्दा प्राथमिकीकरण गरौँ । खेलकुद विज्ञानका हिसाबले अगाडि बढ्नुपर्छ । तलबाटै खेलाडी उत्पादन गर्ने छुटे । योगदान दिएका पुराना खेलाडीहरू कहाँ छन्, उनीहरूलाई खोजौँ, छलफल गरौँ । खेलकुद विकासमा योगदान रहोस् भनौैँ । बजेट न्याय हुने गरी वितरण गरौँ । स्पोर्टस् एजुकेसनलाई जोड दिउँ ।

दशरथ रंगशाला सुधार गरौँ 
देवेन्द्र पौडेल, माओवादी
 
ऐतिहासिक रंगशाला किन बन्न सकेन, यसमा कमजोरी कहाँ भयो ? के कारणले मापदण्ड पुगेन ? पाँच दिनभित्र के प्रणाली अपनाउने हो । तथ्यसहित आउनुपर्‍यो । रंगशालालाई सुधारौँ । अन्तर्राष्ट्रिय स्तरको बनाउन मन्त्रालयले एकसूत्रीय धारणा बनाओस् । बजेटमा समितिले सघाउनेछ ।

सुझावित समाचार