पाँच दिनभित्र दशरथ रंगशालाको प्रगति विवरण बुझाउन राखेप र एन्फालाई निर्देशन

दोस्रोपटक पनि विश्वकप छनोट खेल नेपालबाट सारिने जोखिम बढेपछि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार राखेप र एन्फाका पदाधिकारीसहित दशरथ रंगशालाको निरीक्षण गर्दै पाँच दिनभित्र विवरण बुझाउन दिए निर्देशन

बुधबार, २६ बैशाख, २०८१
डिजिटल संस्करण

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशरथ रंगशालाको प्रगति विवरण पाँच दिनभित्र बुझाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निर्देशन दिएका छन् । त्रिपुरेश्वरस्थित रंगशालाको मंगलबार निरीक्षण गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।  विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत २४ जेठमा रंगशालामा हुने भनिएको युएईविरुद्धको दोस्रो चरणको छनोट खेल अन्य मुलुकमा सारिने जोखिम बढेको एन्फाको भनाइ छ ।  

लगातार दोस्रोपटक विश्वकप छनोट खेल नेपालबाट सारिने सम्भावना बढेपछि खेलकुदमन्त्रीले राखेप र एन्फाका पदाधिकारीकै उपस्थितिमा रंगशालाको निरीक्षण गरेका हुन् । उनले राखेप र एन्फासँग रंगशालाको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । ‘एएफसीले रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाउनु गम्भीर विषय हो । के कारणले यस्तो अवस्था आएको हो,’ मन्त्री श्रेष्ठले भने, ‘त्यसको उत्तर जिम्मेवार पक्षले दिनुपर्छ । अबको २८ दिनपछि खेल हुँदै छ । मलाई पाँच दिनभित्रमा प्राति विवरण चाहिन्छ । त्यसका लागि जे–जे गर्नुपर्छ गर्नुहोस् ।’ 

मन्त्री श्रेष्ठले विश्वकपको छनोट खेल घरेलु मैदानमा खेल हुन नसके सम्बन्धित निकाय कारबाहीको भागीदार हुनुपर्ने स्पष्ट पारेका छन् । ‘मैदानकै कारण रंगशालामा खेल भएन भने पक्कै पनि यसमा दोषी ठहरिने निकाय कारबाहीको भागेदारी हुनुपर्छ,’ चेतावनी दिँदै मन्त्री श्रेष्ठले भने । यसअघि पनि दशरथ रंगशाला खेल्नयोग्य नहुँदा गत चैतमा नेपालले बहराइनविरुद्धको दुवै खेल बहराइनमै खेलेको थियो । त्यसपछि राखेपले एन्फाबाट मैदान हेरचाहको जिम्मेवारी खोसेको थियो । पछिल्लो समयमा राखेप र एन्फाबीचको सम्बन्ध त्यति राम्रो छैन । राखेपले स्वीकृतिविना अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा खेलाडीसँगै अनावश्यक रूपमा पदाधिकारी पठाउनमाथि रोक लगाएपछि दुई पक्षबीचको सम्बन्ध राम्रो छैन ।

के हो एएफसीको मापदण्ड ?
गत मंसिरमा यसै मैदानमा नेपाल र यमनबीच विश्वकपअन्तर्गत दोस्रो चरणको खेल भएको थियो । त्यतिवेला  एएफसीले दशरथ रंगशाला अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार नभएको जनाएको थियो । एन्फाले विशेष आग्रहमा छनोट प्रतियोगिता गराएको महासचिव किरण राईले बताए ।

‘हामीले त्यसवेला एएफसीका प्रतिनिधिहरूसँग प्रतियोगिता आयोजना गर्न आग्रह गरेका थियौँ । उहाँहरूले हाम्रो प्रस्ताव मान्नुभयो, तर अर्कोपटक आवश्यक मापदण्ड पूरा हुनुपर्ने बताइएको थियो,’ उनले भने, ‘यसपटक उहाँहरू मान्नुभएन ।’ उनका अनुसार २१ र २२ वैशाखमा एएफसीका प्रतिनिधिले दशरथ रंगशालाको अवस्था निरीक्षण गरेका थिए । उनीहरूले रंगशाला अन्तर्राष्ट्रियस्तर हुन आवश्यक मापदण्ड पूरा नभएको दोहोर्‍याएका थिए ।

 यसैगरी, एएफसीका प्रतिनिधिहरूले रंगशालाको पिच कन्डिसन तथा सुरक्षा व्यवस्था कमजोर रहेको जानकारी दिएको एन्फाका सिइओ इन्द्रमान तुलाधरले बताए । ‘एएफसीले दशरथ रंगशालाको पिच कन्डिसन राम्रो नभएको र यहाँको सुरक्षा व्यवस्थासमेत कमजोर रहेको उल्लेख गरेको छ,’ तुलाधरले भने, ‘एएफसीले हामीसँग योजना मागेको छ ।’ एएफसीका प्रतिनिधिहरूले घुमाउरो रूपमा रंगशाला पुरानो भएको बताएका छन् । ‘रंगशालाको इन्जिनियरिङ पक्षमा मापदण्ड पूरा नभएपछि एएफसीका प्रतिनिधिहरू असन्तुष्ट छन्,’ उनले भने ।  

 मैदान स्तरोन्नति गर्न एएफसीसँग १० दिन समय माग
एन्फाले दशरथ रंगशालाको स्तरोन्नति गर्न एएफसीसँग थप १० दिनको समय मागेको छ । एन्फाका अध्यक्ष पंकज नेम्वाङले विश्वकप छनोट खेल नेपालमै आयोजना गराउन एएफसीसँग समय मागेको बताएका छन् । ‘अभैm पनि नेपालमा छनोट खेल हुने सम्भावना छ । यसको तयारीस्वरूप रंगशालाको स्तरोन्नति गर्न हामीले एएफसीसँग १० दिन मागेका छौँ,’ उनले भने । राखेप सदस्यसचिव टंकलाल घिसिङले एक साताभित्र मैदानको चारैतिर दुबो हुने बताए । ‘एक साताभित्र हामी मैदानको चारैतिर दुबो राख्छौँ,’ उनले भने, ‘यसका लागि हामीले तीव्रता दिएका छौँ ।’ 

एएफसीका प्रतिनिधिहरू रंगशाला निरीक्षण गर्न आउँदा एन्फाले राखेपसँग समन्वय नगरेको घिसिङको आरोप छ । गत चैतमा दशरथ रंगशालामै तय भएको बहराइनविरुद्धको विश्वकप छनोट खेल बहराइनमै सारिएपछि राखेपले मैदानको रेखदेख गर्ने सबै जिम्मेवारी आफ्नो स्वामित्वमा लिएको थियो । यसअघि एन्फाले रंगशालाको जिम्मेवारी लिएको थियो । एन्फाले मैदान तयार नगरी यहाँ विभिन्न फुटबल प्रतियोगिता आयोजनामा ध्यान दिएको थियो । एन्फाले आफ्नो दायित्व पूरा नगरेपछि रंगशालाको सबै जिम्मेवारी राखेपले लिँदै काम गरिरहेको छ । 

 खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन– पाँच दिनभित्र जवाफ चाहियो
एएफसीले रंगशालाको अवस्थालाई लिएर प्रश्न उठाउनु गम्भीर विषय हो । के कारणले यस्तो अवस्था आएको हो । त्यसको उत्तर जिम्मेवार पक्षले दिनुपर्छ । अबको २८ दिनपछि खेल हुँदै छ । मलाई पाँच दिनभित्रमा प्रगति विवरण चाहिन्छ । त्यसका लागि जे–जे गर्नुपर्छ गर्नुहोस् ।

सुझावित समाचार